धार्मिक सहिष्णुता खलबलाउनेलाई कारबाही गर्न मुस्लिम आयोगको माग

सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै मुस्लिम आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।

काठमाडाैँ– सर्लाहीको मलंगवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै मुस्लिम आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मलंगवा घटनाका सन्दर्भमा ध्यानाकर्षण गराएका हुन्। उनले मलगंवासहित मधेश प्रदेशका केही जिल्लाहरूमा केही अराजक तत्त्वहरूले धार्मिक सहिष्णुता खलबलाउने प्रयास गरिरहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गरे। उनले कफ्र्युको बाबजुत पनि मुस्लिम समुदायको घरघरमा लुट्ने, चेलिबेटीलाई दुर्व्यवहार गर्ने कार्य भइरहेको भन्दै दोषीलाई हदैसम्मको कारबाही गर्न गृहमन्त्रीलाई आग्रह गरे।

उनले भने, "यस विषयमा मन्त्री ज्यूलाई विशेष रुपमा ध्यानाकर्षण गराएका छाैँ। उहाँले पनि अत्यन्तै गम्भीरताका साथ यो विषयमा ठोस कदम चाल्छौँ र दोषी जो भए पनि कारबाहीको दायरामा ल्याउँछौ भन्नुभएको छ, उहाँले अत्यन्तै गम्भीर भएर यसको समाधान निकाल्ने वचन हामीलाई दिनुभएको छ।" 

अन्सारीले मुस्लिम समुदाय सदैव शान्ति, समृद्धि र देशको उन्नति प्रगतिको पक्षमा रहेको पनि बताए। 

विश्वकर्मा पूजाको मूर्ति सेलाउन ट्रयाक्टरमा मलंगवा नगरपालिका–३ विश्वकर्मा चो पोखरीमा सेलाउन लैजाने क्रममा ट्रयाक्टरमा बजिरहेको डिजे बाजाको विषयलाई लिएर विवाद बढेपछि तनावको स्थिति सृजना भएको थियो।