ललितपुर–३ मा तोसिमाको उम्मेदवारी कायमै, सर्वोच्चले दियो आदेशलाई निरन्तरता

सर्वोच्चले तोसिमा कार्कीको उम्मेदवारी कायमै राख्ने यसअघिको आदेश निरन्तर राखेको छ। न्यायाधीशद्वय ईश्वर खतिवडा र तीलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम राख्न आदेश दिएको छ।

काठमाडौँ- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न आदेश दिएको छ। 

न्यायाधीशद्वय ईश्वर खतिवडा र तीलप्रसाद श्रेष्ठको इजलासले सर्वोच्चको यसअघिकै आदेशलाई निरन्तरता दिन आदेश दिएको हो। निर्वाचन आयोगले लाभको पद लिएकाले कार्की उम्मेदवार बन्न अयोग्य रहेको बताउँदै उम्मेदवारी खारेज गरेको थियो। कार्की नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकी छन्। 

आयोगले उम्मेदवारी खारेज गरेपछि सर्वोच्च पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै यसअघि न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको थियो। अन्तरिम आदेश खारेजको माग गर्दै निर्वाचन आयोग भ्याकेटमा गएको थियो।