गैँडा मारेर फरार रहेका ४ जना २५ वर्षपछि पक्राउ

विसं २०५५ कात्तिक २८ गते खाल्डोमा पारेर गैँडा मारी खाग काटेको अभियोगमा उनीहरू फरार रहेका थिए।

चितवन– चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारेको अभियोगमा फरार रहेका चार जनालाई २५ वर्षपछि पक्राउ गरेर सार्वजनिक गरेको छ। 

विसं २०५५ कात्तिक २८ गते खाल्डोमा पारेर गैँडा मारी खाग काटेको अभियोगमा फरार रहेका विष्णु कार्की, गोगनबहादुर बानियाँ क्षेत्री, यामबहादुर बानियाँ र हरि कार्कीलाई निकुञ्जले पक्राउ गरेको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उनीहरुमध्ये हरिलाई विसं २०५७ माघ २५ को फैसलाले ५० हजार रुपैयाँ जरिबाना र सात वर्ष कैद तोकेको थियो भने अन्यलाई एक लाख रुपैयाँ जरिबाना तथा १० वर्ष कैद तोकेको थियो।

उनीहरुलाई यही असोज ६ र ७ गते पक्राउ गरिएको हो। उनका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा विष्णु, गोगनबहादुर तथा यामलाई ६ र ७ गते पक्राउ गरिएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको सहयोगमा हरिलाई असोज ६ गते पक्राउ गरिएको हो। सो घटनमा १७ जनाको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको थियो। अन्यलाई पक्राउ गरिसकिएको छ। पक्राउ परेका उनीहरूलाई कारागार कार्यालय भरतपुर पठाइएको तिवारीले बताए।