५ मन्त्री र ३ राज्यमन्त्रीसहित कोशीमा मन्त्रीपरिषद विस्तार

मुख्यमन्त्री कार्कीले सामाजिक विकास मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय भने आफैसँग राखेका छन्। 

फाइल तस्वीर

काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीपरिषद विस्तार गरेका छन्। 

मुख्यमन्त्री कार्कीले सोमबार विस्तार गरेको मन्त्रीपरिषदमा स्वास्थ्यमन्त्रीमा तीलकुमार मेन्याङवो, पर्यटन वन तथा वातावरण मन्त्रीमा पाँचकर्ण राई, भौतिक पूर्वाधार विकास मन्त्रीमा एकराज कार्की सिफारिस भएका छन्। यस्तै, आन्तरिक मामिला तथा कानूनमन्त्रीमा लिलाबल्लभ अधिकारी र खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा बुद्धिकुमार राजभण्डारीको नाम सिफारिस गरेका छन्। 

मुख्यमन्त्री कार्कीले सामाजिक विकास मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय भने आफैसँग राखेर त्यहाँ राज्यमन्त्री ताेकेका छन्।

रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री, सिर्जना राईलाई सामाजिक विकास राज्यमन्त्री र निरन राईलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री सिफारिस गरेका हुन्। 

यसअघि एमालेबाटै तीलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसकेका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम नियुक्ति हेरफेर र कार्यविभाजन हुने गरी आवश्यक व्यवस्थाका लागि सिफारिस गरिएको मुख्यमन्त्री कार्कीले जनाएका छन्।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कोशीमा ठूलो हैसियतमा रहेकाे एमाले सरकारले आगामी असोज २० गतेसम्म विश्वासको मत लिइसक्नुपर्नेछ।