प्रेमिका हत्याका आरोपी ६ वर्षपछि पक्राउ

विराटनगरकी ३२ वर्षीया ललिताकुमारी रामको शव ६ वर्षअघि धादिङस्थित पृथ्वी राजमार्गमा भेटिएको थियो। उनको शव भेटिनुअघि नै प्रेमी ३५ वर्षीय अरुणकुमार मिझार बेपत्ता भएका थिए।

धादिङ- प्रेमिकाको हत्या गरेको आरोप लागेका एक व्यक्ति ६ वर्षपछि पक्राउ परेका छन्। सप्तरी काचन (साविक काचन गाविस–६) का ३५ वर्षीय अरुणकुमार मिझारलाई प्रहरीले पक्राउ गरेको छ।

मोरङ विराटनगर महानगरपालिका–५ की ३२ वर्षीया ललिताकुमारी रामको हत्या गरी फरार रहेका मिझार असोज ५ गते सप्तरी काचन वोदेबर्साइन नगरपालिका–८ काचनबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए। ललिताकुमारीको शव २०७४ साल असोज १२ गते साँझ बेवारिसे दुर्गन्धित अवस्थामा धादिङको धुनीबेँसी नगरपालिका–९ टायलघरस्थित पृथ्वी राजमार्गमा पर्ने अधेरीखोलामा भेटिएको थियो।

कानूनबाट बच्न मिझार देशै छाडेका थिए। उनी मलेसिया, दुबई, भारतलगायत मुलुकहरूमा लुकिछिपी बस्थे। एसपी मिश्रले भने, “हाल नेपाल आएको समयमा मिझारलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा मकवानपुरको सहयोगमा सप्तरीबाट पक्राउ गरिएको हो।”

ललिता २०७४ भदौ २१ गते मोरङबाट काठमाडौँ आएकी थिइन्। त्यसको २० दिनपछि उनको शव धादिङमा भेटिएको थियो। उनले लगाएको कपडा र चप्पलबाट उनका भाइले शव पहिचान गरेका थिए।

एसपी मिश्रका अनुसार ललिता पेसाले स्टाफ नर्स थिइन्। मृतकको मोबाइल तथा प्राविधिक अनुसन्धानपछि ललिता र मिझार प्रेम सम्बन्धमा रहेको खुलेको थियो। “उनीहरू बीचको सम्बन्धबाट ललिता गर्भवती रहेको खुलेको थियो। उनीहरूबीच असमझदारीका कारण मिझारले हत्या गरेको पुष्टि भएको हो। अहिले मिझारलाई धादिङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ,” उनले भने।