बारामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, २ भारतीय पक्राउ

हत्यामा संलग्न रहेको आशंकामा भारतीय नागरिकहरू राहुल साह र सामलाल महतोलाई प्रहरीले पक्राउ गरेको छ। 

बारा– नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रमा एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको छ। 

हत्या गरिएको अवस्थामा सोमबार ३४ वर्षीय अमरेशकुमार सिंहको शवको शव भेटिएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए। 

पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा सिंहको शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्थानीयवासीका अनुसार जागिर छाडेपछि सिंहले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल सञ्चालन गरेका थिए।

यद्यपि केही समयअघि मात्रै उनले रक्सी पसल पनि बन्द गरे। उनी हाल गाउँमै खेतीपाती गर्दै आएका थिए। मृतक सिंहको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेको र शरीरका विभिन्न ठाउँमा चोट देखिएको एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए। 

उनी सशस्त्र प्रहरी बलमा पाँच वर्षमात्र  कार्यरत रहेका थिए। केही महिनाअगाडि मात्रै उनले जागिर छोडेको एसपी काफ्लेले जानकारी दिए। प्रहरीले उनको हत्यामा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको छ। हत्यामा संलग्न रहेको अभियोगमा भारतीय नागरिकहरू राहुल साह र सामलाल महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका राहुल साहले दशगजाको नेपालतर्फ रक्सी पसल सञ्चालन गर्दै आएको र केही दिन पहिले सिंहसँग झगडासमेत भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

“इलाका प्रहरी कार्यालय सिम्रौनगढमा मृतक सिंहले भारतीय नागरिक साह र महतोलाई विपक्षी बनाई निवेदन पनि दिएका थिए। प्रहरीले सोमबार दुवै पक्षलाई छलफलका लागि बेलाएको थियो,” एसपी काफ्लेले भने, “सुतिरहेको अवस्थामा घरमा गई बोलाएर दशगाजातर्फ लगी धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको छ।” 

पक्राउ परेका साह, महतो र मृतक सिंहबीच कैयौँपटक रक्सीको विषयमा झैझगडा भएको प्रहरीको भनाइ छ। घटनामा संलग्न एकजना फरार रहेकाको खोजी भइरहेको छ। 

खुला सीमा रहेका कारण अभियुक्तहरू नेपालबाट कर्तव्य गरी भारततर्फ र भारतबाट कर्तव्य गरी नेपालतर्फ भागेर लुकीछिपी बस्ने गरेको प्रहरीले जनाएको छ।