समूहमा भ्रमण गर्ने चिनियाँलाई भिसा जारी गर्दै अस्ट्रेलिया

कोरोना महामारीपछि पहिलो पटक भिसा जारी गर्ने प्रक्रिया थालिएको अस्ट्रेलियाको व्यापार एवं पर्यटन मन्त्रालयले जनाएको छ।  

तस्वीर: एपी

अस्ट्रेलिया सरकारले समूहमा आफ्नो देश भ्रमणमा आउने चिनियाँ नागरिकलाई प्रवेशाज्ञा (भिसा) जारी गर्ने प्रक्रिया पुनः शुरू गरेको छ।

कोरोना महामारीपछि पहिलो पटक भिसा जारी गर्ने प्रक्रिया थालिएको त्यहाँको व्यापार एवं पर्यटन मन्त्रालयले जनाएको छ। स्वीकृत गरिएका गन्तव्यमा चिनियाँ पर्यटकलाई भिसा जारी गरिने व्यापार एवं पर्यटनमन्त्री डन फारेलले बताए।

यात्रा व्यवस्थापन गर्ने चिनियाँ र अस्ट्रेलियाको पर्यटन उद्योगको समन्वयमा काम थालिएको उनको भनाइ छ।  दुवै देशका सरकार र पर्यटन उद्योगीबीच आवश्यक सम्झौता गरेर प्रक्रिया अघि बढाइएको हो। 

“चीनलगायत संसारका कुनै पनि देशबाट अस्ट्रेलियाको भ्रमण गर्नेलाई विश्वस्तरीय पर्यटन सेवा उपलब्ध गराउँछौँ,” मन्त्री फारेलले भने, “पर्यटकलाई स्वागत गर्न व्यावसायीहरू उत्सुक छन्।” 

कोरोना महामारीअघि सन् २०१९ मा १४ लाख चिनियाँले आफ्नो देशको भ्रमण गरेको अस्ट्रेलियाको पर्यटन विभागले जनाएको छ।