तनहुँमा डेंगी संक्रमणबाट १ हप्तामा २ जनाको मृत्यु

दमौली अस्पतालमा बिरामीको संख्या बढेपछि नगरपालिकाअन्तर्गतका एक डाक्टरसहित पाँच जना स्वास्थ्यकर्मीलाई पनि अस्पतालमा खटाउने गयारी गरिएको छ। 

दमौली– डेंगी संक्रमणबाट तनहुँमा एक हप्ताबीचमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुने दुवै व्यास नगरपालिकाका रहेका छन्। 

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र असोज ८ गते व्यास –२ की १३ वर्षीया बालिकाको डेंगीबाट मृत्यु भएको हो। यसअघि गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवाको समेत डेंगी भएर मृत्यु भएको थियो। 

डेंगी संक्रमण बढ्दो क्रममा रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए। जिल्लाभर डेंगीका एक हजार ६०० बिरामी छन्। त्यसमध्ये एक हजार ३५० बिरामी व्यास नगरपालिकाको रहेको उनको भनाइ छ। 

दमौली अस्पतालमा बिरामीको संख्या बढेपछि नगरपालिकाअन्तर्गतका स्वास्थ्यकर्मीलाई अस्पतालमा खटाउने तयारी गरिएको छ। एक डाक्टर, दुई जना ल्याबका कर्मचारी र दुई जनालाई इमर्जेन्सीमा परिचालन गर्न लागिएको नगरपालिकाले जनाएको छ। 

नगरपालिकाले टोल–टोलमा डेंगीसम्बन्धी सचेतना शुरू गरेको छ। सोतीले डेंगी नियन्त्रण रोकथामका लागि औषधि छर्किनेदेखि स्वास्थ्यसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जिल्लामा डेंगीको संक्रमण बढेकाले सतर्कता अपनाउन आग्रह गरे। डेंगीका बिरामी बढेसँगै स्वास्थ्य संस्थामा शय्याको अभाव भएको छ। 

दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालका अनुसार एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो। यसरी आएको ज्वरो सात दिनसम्म रहिरहन सक्छ। यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगीका लक्षण रहेको डा. बरालले बताए। 

“यसबाट बच्न मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ,” उनले भने, “शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, राति र दिउँसो पनि झुलभित्र सुत्ने, घर वरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्‍याउनु यसबाट बच्ने प्रमुख उपाय हुन्।”