इन्द्रजात्रामा काठमाडौँको यातायात प्रभावित हुने, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

महानगरका अनुसार असोज ११ गते बसन्तपुर, मरू, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म रथयात्रा सञ्चालन हुने हुनेछ।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रामा विभिन्न स्थानको सवारी आवागमन प्रभावित हुने जनाएको छ। मंगलबार सूचना जारी महानगरले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ। 

महानगरका अनुसार असोज ११ गते बसन्तपुर, मरू, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म रथयात्रा सञ्चालन हुने भएकाले ती क्षेत्रमा सवारी आवागमन प्रभावित हुनेछ।

यस्तै, असोज १२ गते बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुरसम्म रथयात्रा हुने छ। सो क्षेत्रमा पनि यातायात प्रभावित हुनेछ।

“बसन्तपुरकेन्द्रित, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्वको राष्ट्रिय पर्वका क्रियाकलाप शुरू भइसकेका छन्। इन्द्रजात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलाप हिँडेर सञ्चालन गरिन्छन्,” सूचनामा भनिएको छ, “यसर्थ तोकिएका स्थानमा सवारी साधन प्रवेश नगराउन, त्यस मार्गबाट गन्तव्यमा जानुपर्ने यात्रुले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायात व्यवस्थापनमा सहयोग पुर्‍याउनुहुन अनुरोध गर्छौँ।”