ललिता निवास प्रकरणः सर्वोच्चले माग्यो बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि मुद्दा नलाग्नुको कारण

शक्ति र पहुँचका भरमा उनीहरूलाई उन्मुक्ति दिइएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

काठमाडाैँ– सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराई तथा पूर्व मुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ। 

आइतबार न्यायाधीश विनोद शर्माको इजलासले ललिता निवासको जग्गा ठगी प्रकरणमा मुद्दा नचलाउनुबारे नेपाल सरकारसँग कारण माग गरेको हो। शक्ति र पहुँचका भरमा उनीहरूलाई उन्मुक्ति दिइएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा नचलाउने अख्तियारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, महान्यायाधिवक्ता कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), साथै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई लगायतसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको हो। 

याे पनि: ललितानिवास प्रकरणको तेस्रो अनुसन्धान : पहुँचवालाको ‘संकटमोचन’

सर्वोच्च अदालतले रिट निवेदनलाई यसअघि ललिता निवास प्रकरणमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाउँदाको विवादसँग सम्बन्धित निवेदन पनि एकैसाथ राखेर सुनुवाइमा पेस गर्न आदेश दिएको छ।

नेउपानेकाे त्यही रिटमाथि दुई वर्षअघि अन्तिम सुनुवाइ भएर निर्णय सुनाउने मिति तोकिए पनि फैसला हुन सकेकाे थिएन। २०७८ कात्तिक १५ मा निर्णय सुनाउने आदेश भए पनि अहिलेसम्म अदालतको निर्णय आएको छैन। अब फेरि शुरू सुनुवाइमा पुगेको यो मुद्दाको पेसी आउँदो पुस १ गतेका लागि तोकिएको छ।