वार्षिक अर्बाैं देशमा पठाएर देशको अर्थतन्त्रलाई बलियो बनाउन भूमिका खेल्ने नेपालीहरूलाई स्थानीय प्रादेशिक र संघीय चुनावमा मताधिकार पनि दिइनुपर्छ।
म विगत २५ वर्षदेखि मलेसियामा आप्रवासी श्रमिकहरूको हक अधिकारका लागि सक्रिय छु। नेपालबाट पहिलो पटक यहाँ म रोजगारीकै लागि आएको हुँ तर एकाध वर्षपछि नेपाली आप्रवासी श्रमिकहरूको अधिकारका लागि काम गर्ने संस्था र अभियानहरूसँग जोडिन पुगेँ। पहिलोपटक मलेसिया आइपुग्दा एक खालको अत्यास लागेको थियो तर नयाँ ठाउँसँग पनि बिस्तारै माया बस्दाेरहेछ। यहाँ पनि पर्याप्त रूपमा नेपालीहरू भएकाले एडजस्ट गर्न उति समस्या भएन।
आफूजस्तै देश छाडेर रोजगारीका लागि आएका आफ्नै संस्कृतिका साथीहरू देखेपछि न्यास्रो हट्दोरहेछ। फेरि देशमा बसेर मात्रै भएन, जीवन पनि सहज चल्नुपर्यो। देशको माया त अति नै छ तर त्यसो भन्दैमा देशलाई अँगालो हालेर मात्रै बस्न सकिँदो रहेनछ। आफ्नै देश भए पनि त्यहाँ बेरोजगारी, अन्याय र शोषण छ। कुरा बुझिल्याउँदा अन्याय र शोषण त सर्वत्र छ। अझ आप्रवासी श्रमिकमाथि त अन्याय झनै बढी छ। त्यसकारण पनि यो क्षेत्रमा लाग्नपाउँदा म सन्तुष्ट छु।
प्रवासीहरूलाई चाडवाडमा आफ्नो देश र गाउँठाउँको निकै याद आउँछ। तर, राजनीतिमा चासो लाग्नेहरूलाई चुनाव पनि चाडजत्तिकै अर्को महत्त्वपूर्ण अवसर हो। उसो त नेपाली समाज आजका दिनमा राजनीतिक रूपमा सचेत समाज हो। धेरैजसो चलायमान र सामाजिक रूपमा चिनिएका व्यक्तिहरू राजनीतिमा चासो राख्छन्। कुनै न कुनै रूपमा राजनीतिक दलहरूमा संलग्न भइरहेकै हुन्छन्। यसो हुँदा हामी विदेशमा भए पनि हाम्रा आफन्तहरू सक्रिय रूपमा नेपालको राजनीतिमा संलग्न हुनसक्छन्। हामी विदेशमै भए पनि नेपालका राजनीतिक दलहरूसँग सम्बन्धित छौँ। यहाँ पनि प्रमुख दलहरूका प्रवासी संगठनहरू सक्रिय छन्।
विदेशमा रहेका बेला नेपालमा चुनाव हुँदा मलाईचाहिँ व्यक्तिगत रूपमा खल्लो लाग्छ। सहज वातावरण बन्नसके आफ्नो देशको भाग्य र भविष्य निर्माणका लागि आफूहरूले पनि योगदान गर्न पाएझैँ हुन्थ्यो भन्ने लाग्छ। यता चुनावमा भोट हाल्न लागेका लाइनका तस्बिरहरूमा मिडिया र सामाजिक सञ्जालमा छाउँदा हामी पनि त्यसै गरी लाइनमा बसेर भोट हाल्न पाए कति मजा हुन्थ्यो भन्ने लाग्छ। पार्टी तथा व्यक्तिप्रति हाम्रो आस्था हुने भएकै कारण तिनीहरूका पक्षमा माहोल बनाउन पाए हुन्थ्यो भन्ने लाग्छ। झण्डा बोकेर, आफ्ना नेतालाई अघि लगाएर भोट माग्न जान पाए हुन्थ्यो झैँ लाग्छ।
म प्राय: विदेशै बसे पनि नेपालमा आएर मैले पच्चीस वर्षको बीचमा तीनपटक फरक चुनावहरूमा भोट हाल्ने मौका पाएँ। म आफू खास दलसँग सम्बन्धित भएका कारण पनि प्राथमिकता र चासोका साथ नेपालमा आएर भोट हाल्न पाएँ। त्यस दृष्टिबाट हेर्दा म थोरै ‘प्रिभिलेज्ड’ पनि हुँ। तर आम प्रवासी नेपालीहरूले चाहेर पनि आफूले चाहेका दल र नेतालाई भोट दिन पाएका छैनन्। यो दुःखको कुरा हो किनकि थोरैबाहेक धेरैजसो नेपालीहरू रहरले विदेश आएका होइनन्। केही पैसा कमाएर हातमुख जोर्ने, आफ्ना बालबच्चालाई राम्रो शिक्षा दिने र एउटा सामान्य आवास बनाएर बस्ने रहर पूरा गर्न ती विदेश आएका हुन्छन्। कैयौँ मान्छे त परिवारको सदस्यको उपचार गर्नकै लागि या बाँच्नकै लागि समेत बिदेसिन विवश छन्।
यस्तो अवस्थामा विगत केही वर्षयता विदेशमा रहेका नेपालीहरूले पनि नेपालको चुनावमा भोट माग्न पाउनुपर्ने मागहरू अनेकौँ मञ्चहरूमा दोहोर्याइरहेका छन्। गत मे ९ मा फिलिपिन्समा राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव भयो। सो चुनावमा त्यहाँको सरकारले प्रवासमा रहेका फिलिपिनाे नागरिकहरूलाई मतदानको व्यवस्था मिलाएको थियो। मलेसियामा रहेका फिलिपाेनाेहरूले त्यहाँस्थित आफ्नो दूतावासमार्फत राष्ट्रपति र उपराष्ट्रपति चुनावमा भाग लिने मौका पाए। यो एउटा सानो उदाहरण मात्रै हो। उसो त प्रवासी इन्डाेनेसियालीहरूले पनि आफ्नो देशमा हुने चुनावमा भोट खसाल्न पाउँछन्।
हामीले किन ती देशहरूको अभ्यासबाट नसिक्ने? नेपाल सरकारले फिलिपिन्स र इन्डोनेसिया निर्वाचन गराउने निकायसँग सम्पर्क गरेर ती देशले हासिल गरेको प्रवाससम्बन्धी निर्वाचनबारेको ज्ञान लिन सक्छ। यो संघीय र प्रादेशिक चुनावमा त प्रवासमा रहेका हामीले भोट हाल्न नमिल्ने भयो, तर यदि नेपाल सरकारले प्रवासी नेपालीको भावनालाई कदर गर्ने हो भने त्यसतर्फ कदम चाल्नै पर्छ। वार्षिक अर्बाैं देशमा पठाएर देशको अर्थतन्त्रलाई बलियो बनाउन भूमिका खेल्ने नेपालीहरूलाई स्थानीय प्रादेशिक र संघीय चुनावमा मताधिकार पनि दिइनुपर्छ।
आजका दिनमा भारतमा रोजगारी, अवसर र अध्ययनका लागि गएका नेपालीहरूको संख्या पन्ध्रदेखि बीस लाख भन्ने अनौपचारिक तथ्यांक छ। प्रवासी नेपाली तथा श्रम अधिकारको क्षेत्रमा गरिरहेका एनजिओ र आईएनजीओहरूले यसै भन्ने गरेका छन्। खुला सिमाना भएकाले नेपालबाट भारत जाने नेपालीको ट्र्याकिङ गर्न सहज भने छैन। त्यसका साथै मलेसिया, हङकङ, अरबलगायत देशमा झण्डै ३० लाख नेपाली छन्। त्यसो हुँदा पचास लाख आसपासका बालिग नेपालीहरू अहिले पनि मताधिकारबाट वञ्चित छन्। र माथि नै उल्लेख गरियो, अधिकांश नेपालीहरू बाध्य भएर बिदेसिएका हुन्। उनीहरूलाई बाहिर राखेर गरिने चुनावले दिने परिणामले उनीहरूको हित गर्न सक्दैन। उनीहरूलाई देशमै फर्काएर रोजीरोटीको व्यवस्था गर्नेतर्फ त्यो अघि बढ्न सक्दैन।
कतिपयले त्यसो गर्न सम्भव नभएको बताउने गरेका छन्। तर कतिपय देशहरूले गरेरै देखाएका छन्। अतः हामीले विदेशमै रहे पनि नागरिकता त नेपालकै हो। देश छाडेर हामीले कुनै देशको नागरिकता लिएका पनि छैनौँ। त्यसकारण नेपाली नागरिकले प्रयोग गर्ने हक हामीले पनि गर्न पाऊँ। आफ्नो देशको चुनावमा भोट हाल्न पाऊँ। सारा प्रवासीको माग र रहर हो यो।
(नेपाल ट्रेड युनियन महासंघ जिफन्टसँग सम्बद्ध खतिवडा मलेसियामा रहेर प्रवासी नेपाली श्रमिकहरूको हितमा काम गरिरहेका छन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
