सरकारी स्वामित्वको पसलमै गुणस्तरहीन चिज बिक्री, १० हजार जरिबाना

सरकारी स्वामित्वको चिज केन्द्रमा उपभोग गर्न नमिल्ने गरी सडेको ७५ केजीभन्दा बढी गुणस्तरहीन चिज फेला परेपछि सो चिज नष्ट गरेर जरिबानासमेत तिराइएको छ। 

फाइल तस्वीर

रसुवा– दुग्ध विकास संस्थानद्वारा सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई १० हजार रुपैयाँ जरिबाना गराइएको छ।  

चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको, बिग्रिएको चिज उपभोक्तालाई बिक्री गरेको फेला परेपछि केन्द्र कारबाहीमा परेको हो। केन्द्रलाई १० हजार रुपैयाँ जरिबाना गराउँदै सचेत गराइएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीले बताए। 

गोसाइँकुण्ड धार्मिक मार्गस्थित चन्दनबारी चिज उत्पादन केन्द्रको भण्डारमा सडेर राखेका चिज बजारमा बिक्री–वितरण भएको भन्ने जनगुनासो बढेपछि बजार अनुगमन समितिले केन्द्रको भण्डारमा छापा मारेको थियो।

सरकारी स्वामित्वको चिज केन्द्रमा उपभोग गर्न नमिल्ने गरी सडेको ७५ केजीभन्दा बढी गुणस्तरहीन चिज फेला परेपछि सो चिज नष्टसमेत गराइएको सहायक अनुगमन समितिका संयोजक ज्ञवालीले जानकारी दिए। 

केन्द्रद्वारा उत्पादित चिज नष्ट गरिएको यो पहिलो पटक भएको उनको भनाइ छ। गोसाइँकुण्डमा भक्तजनको ओहोरदोहोर भइरहेको धार्मिकमार्गमा अवस्थित चिज केन्द्रबाट प्रसादका रूपमा समेत भक्तजनले चिज खरिद गर्ने भएका कारण बिग्रिएको चिज बिक्री–वितरण नगर्न स्थानीय बासिन्दाले समेत आग्रह गरेका छन्।

दशैँसमेत नजिकिँदै गएको र गुणस्तरहीन खाद्यवस्तु बजारमा बिक्री हुनसक्ने सम्भावनालाई मध्यनजर गरी बजार अनुगमन समितिले बजार अनुगमन तीव्र पारिएको घरेलु उद्योग रसुवाका प्रमुख बृहस्पति तामाङले जानकारी दिए।