गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध

ठक्कर दिने गाडीको पहिचान गर्न माग गर्दै मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेका छन्। जसले गर्दा तराईबाट बैतडी तथा दार्चुलाका लागि छुटेका सवारीसाधन बीचबाटोमै रोकिएका छन्। 

बैतडी– गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हवलदार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन्। 

बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा गाडीले बुधबार ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। 

बाजुराबाट बझाङ जाने गाडीमा आएका महरा खोड्पे बजारमा ओर्लिएर हिँडिरहेका बेला गाडीले ठक्कर दिएको बताइएको छ। ठक्कर दिने गाडीको पहिचान हुनसकेको छैन। 

यसैबीच महरालाई ठक्कर दिने गाडीको पहिचान गर्न माग गर्दै मृतकका आफन्तले अहिले दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन्। राजमार्ग अवरुद्ध हुँदा अहिले तराईबाट बैतडी तथा दार्चुलाका लागि छुटेका सवारीसाधन बीचबाटोमै रोकिएका छन्। 

महरालाई ठक्कर दिने सवारीको पहिचान कार्य र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।