धर्नामा रहेका ‘ई’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानवअधिकार आयोगको आग्रह

वास्तविक पीडित र साना सडक व्यवसायीहरूको पहिचान गरी उनीहरूलाई पेशा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोगले नेपाल सरकार र काठमाडौँ महानगरपालिको ध्यानाकर्षण गराएको छ।

काठमाडौँ– साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै विगत ८ दिनदेखि काठमाडौँ महानगरपालिकाको कार्यालय, राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका ‘ई’ को स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

आयोगले मंगलबार स्थलगत अनुगमन गरेको उल्लेख गर्दै काठमाडौँ महानगरपालिकालाई धर्नामा रहेकाको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न भनेको हो। अनुगमनको क्रममा आयोगको टोलीले धर्नाको नेतृत्व गरिरहेका ‘ई’ र उनका साथीहरू एवं धर्नास्थल वरपरका व्यापारीहरूसँग छलफल गरी जानकारी लिएको आयाेगले बुधबार जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ। 

"रातिको १२ बजेदेखि ५ बजेसम्म कुर्चीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेको, विगत ८ दिनदेखि उभिएर धर्ना गरिरहेका ‘ई’ को दुवै खुट्टा अस्वभाविक रूपमा सुन्निएको, नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, सुन्निएको कम गर्नका लागि चिकित्सकको सल्लाहबमोजिम असोज ८ गतेदेखि औषधि सेवन गरिरहेका छन्," आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "महानगरपालिकाबाट यस विषयलाई संवेदनशील रूपमा नलिएको गुनासो प्रदर्शनकारीले गरेका छन्, आयोगले महानगरका अधिकारीहरूसँग छलफल गरी समस्या समाधानको लागि पहल गरिरहेको छ।"

यस्तै, वास्तविक पीडित र साना सडक व्यवसायीहरूको पहिचान गरी उनीहरूलाई पेशा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोगले नेपाल सरकार र काठमाडौँ महानगरपालिको ध्यानाकर्षण गराएको छ। ‘ई’ले उठाएको साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग मानव अधिकार उपभोगसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको आयोगले जनाएकाे छ। 

"नेपालको संविधानको धारा १७ (च) मा नेपालको कुनै पनि भूभागमा पेशा, रोजगारी गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रताको उल्लेख गरेको छ। संविधानको धारा ३३ मा रोजगारीको हकको उल्लेख गरिएको छ," विज्ञप्तिमा भनिएको छ।