म सर्प पाल्दिनँ, भैँसी–बाख्रा पाल्न छोडेँ : झलनाथ खनाल

उनले आफूले नचाहँदा नचाहँदै पनि आफ्नो नाम राखेर कसैले व्यवसाय गरेकाे र त्यसबाट के–के गरे भन्नेबारे आफू अनविज्ञ रहेको भन्दै सर्प पाल्ने काममा आफ्नो कुनै लगानी नरहेको दाबी गरेका छन्।

काठमाडाैँ– पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर आलोचना गर्ने गरेको भन्दै आपत्ति जनाएका छन्। 

बुधबार काठमाडौँमा आयोजित नेपाल सर्ट फिल्म अवार्ड–२०२३ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफू सर्लाही जाँदा सर्पको टोकाइका कारण मृत्युवरण गर्नुपरेको घटना देखेकाले सर्पदंशका बिरामीलाई देशमै उपचार हुनुपर्ने र औषधि बन्नुपर्ने माग सम्बोधन गर्नका लागि आवाज उठाएको बताए। उनले आफूले नचाहँदा नचाहँदै पनि आफ्नो नाम राखेर कसैले व्यवसाय गरेकाे र त्यसबाट के–के गरे भन्नेबारे आफू अनविज्ञ रहेको भन्दै सर्प पाल्ने काममा आफ्नो कुनै लगानी नरहेको दाबी गरे। 

पछिल्लो समय त्यसलाई विवादमा तान्ने काम भएको भन्दै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेतासमेत रहेका उनले अख्तियारमासमेत उजुरी परेर छानबिनको विषय बनेको कुरा आफूले जानकारी पाएको बताए। उनले नाम अर्कैले राखेको तर आफूलाई ७३ करोड भन्ने गरिएको बताए।

"यहाँ त ७३ करोड रुपैयाँ ल्याएर झलनाथले सर्प पाल्दैछ भन्छन्, केही मान्छेहरू कमेन्टमा सर्प लेखेर बस्छन्, तिनीहरूको पेसा नै त्यही जस्तो लाग्छ। त्यसमा मेरो न कुनै लगानी छ, न कुनै अरु पेशा व्यवसाय छ," उनले भने, " विशुद्ध यो देशमै औषधि बनोस् भन्ने मेरो इच्छा हो, अहिले विवादग्रस्त भएछ, अख्तियारमा समेत पुगेछ। म सर्प पाल्दिनँ, भैँसी–बाख्रा पाल्न छोडेँ।"

पूर्वप्रधानमन्त्री खनालले साहित्य, कला र संस्कृति समाजको शक्ति भएको बताउँदै कला,साहित्य र संस्कृतिको विकास नहुने देश बलियो र समृद्ध नहुने जिकिर गरे।