आफूले सम्मान गरेका व्यक्ति नाजी भएको तथ्य बाहिरिएपछि क्यानडेली सभामुखले दिए राजीनामा

सम्मान गरिएका व्यक्ति दोस्रो विश्वयुद्धमा नाजी पार्टीको अभिन्न अंग एसएस (स्कुत्जस्टाफेल)का तर्फबाट सहभागी भएको तथ्य यहुदी मानवअधिकार सम्बन्धी समूहहरूले बाहिर ल्याएका थिए।

क्यानडाको संसदका सभामुख एन्थोनी रोटाले आफूले सार्वजनिकरूपमा सम्मान गरेका व्यक्ति नाजी रहेको तथ्य बाहिरिएपछि क्यानडा र विश्वभरका यहुदी समुदायसँग माफी माग्दै पदत्याग गरेका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको क्यानडेली संसदको भ्रमणका क्रममा रोटाले दोस्रो विश्वयुद्धका दौरान रुसी सेनाविरुद्ध बहादुरीका साथ लडेको भन्दै ९८ वर्षीय यरोस्लाव हुन्काको सम्मान गरेका थिए। उनले हुन्कालाई युक्रेनको र क्यानडाको हिरो भन्दा क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडो, युक्रेनी राष्ट्रपति जेलेन्स्की लगायत संसदमा उपस्थित सबैले ताली बजाएर सम्मान व्यक्त गरेका थिए। 

त्यसपश्चात हुन्का दोस्रो विश्वयुद्धमा नाजी पार्टीको अभिन्न अंग एसएस (स्कुत्जस्टाफेल)का तर्फबाट सहभागी भएको तथ्य यहुदी मानवअधिकार सम्बन्धी समूहहरूले बाहिर ल्याएका थिए। ती समूहले क्यानडेली सभामुखले अविलम्ब माफी माग्नुपर्ने माग गरेका थिए।

शुक्रबार भएको यो घटनापछि राजधानी ओट्टावामा सांसदहरूलाई सम्बोधन गर्दै रोटाले भारी मनकासाथ आफूले राजीनामा दिने बताए। "यो सदन हामी सबैभन्दा माथि छ। संसदमा भएको कार्यक्रममा अज्ञानतावश मान्छे चिन्न नसक्दा भएको भुलले म लज्जित छु। यस घटनाले क्यानडालगायत विश्वका अन्य भागमा बसोबास गर्ने यहुदी समुदाय र अन्य व्यक्ति र समूह दुखित भएका छन् भन्ने मलाई ज्ञात छ," रोटाले भनेका थिए। 

यसका साथै उनले यो पहल आफू एक्लैको भएको र यसबारे क्यानडाको संसद र युक्रेनी प्रतिनिधिमण्डलाई कुनै जानकारी नभएको प्रष्टोक्ति दिएका थिए। उक्त क्षण क्यानाडाकै लागि राष्ट्रिय लज्जाको विषय भएको भन्दै रोटा सांसदहरू र उनी आबद्ध लिबरल पार्टीका वरिष्ठ नेताहरूबाट पदत्याग गर्नुपर्ने दबाबमा थिए। उनी बुधबार बेलुकाबाट पदमुक्त हुनेछन्।