काठमाडौँ महानगर र अभियन्ता 'ई'बीच सहमति

फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापनको माग गर्दै धर्नामा बसेका अभियन्ता ई र काठमाडौँ महानगरबीच बुधबार साँझ ४ बुँदे सहमति भएको हाे।

काठमाडौँ– फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापनको माग गर्दै धर्नामा बसेका अभियन्ता ई र काठमाडौँ महानगरबीच बुधबार साँझ सहमति जु‍टेको छ। याेसँगै १९९ घण्टादेखि महानगरपालिकाको कार्यालय, राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका ईले आन्दाेलनका कार्यक्रम स्थगन गरेका छन्।

महानगर र ईबीच ४ बुँदे सहमति भएकाे हाे। फुटपाथ तथा सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफल गरिएका सामानहरु महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई महानगरले फिर्ता गर्ने सहमति भएको छ।

यस्तै, अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न ठोस सुझावसहित दुई महिनाभित्र महानगरपालिकामा अध्ययन प्रतिवेदन पेस गर्न समिति गठन गर्ने विषयमा पनि सहमति भएको छ। सहमतिअनुसार फुटपाथ व्यवसायीका लागि महानगरपालिकाभित्र उपयुक्त स्थलहरूकाे पहिचान गर्न महानगरले एक हप्ताभित्र पहल गर्नुपर्नेछ।

मंगलबार पनि दुईपक्षबीच वार्ता भएकाे थियाे। तर फुटपाथ व्यवसायीका लागि उपयुक्त स्थलकाे पहिचान गर्ने विषयमा कुरा नमिल्दा सहमति जुटेकाे थिएन।