स्वास्थ्यकर्मीमाथि हातपात गर्नेविरुद्ध हुने सजायबारे अस्पतालबाहिर सूचना टाँस्नुपर्ने

साथै स्वास्थ्य सेवा पाउनु सबै नागरिककाे नैसर्गिक अधिकार भएकाे भन्दै आफ्नो सेवा नराेक्न पनि सबै अस्पतालहरूलाई आग्रह गरेकाे छ।

काठमाडौँ– स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई हुने सजायको जानकारीसहित अब अस्पतालहरूले सूचना टाँस्नुपर्ने भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूलाई स्वास्थ्यकर्मीमाथि हातपात, स्वास्थ्यसंस्था ताेडफाेड आदि गरे भोग्नुपर्ने कानूनी कारबाहीको जानकारीसहित सबैले देख्ने गरी कम्तीमा ६*४ फिटको स्थायी सूचना टाँस्न भनेकाे हाे। 

साथै स्वास्थ्य सेवा पाउनु सबै नागरिककाे नैसर्गिक अधिकार भएकाे भन्दै आफ्नो सेवा नराेक्न पनि सबै अस्पतालहरूलाई आग्रह गरेकाे छ।

स्वास्थ्यकर्मीमाथि भइरहेका हातपातका घटनालाई लिएर बुधबार गृहमन्त्रालयमा गृहमन्त्री, स्वास्थ्यमन्त्री लगायत सम्बन्धित सरोकारवाला निकायका प्रमुखसहित बैठक बसेको थियो। त्यही बैठकले अस्पतालबाहिर सूचना टाँस्ने जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिएकाे हाे। 

यस्तै, गृह मन्त्रालयले त्यस्ता घटनामा संलग्न दोषीहरूलाई कानूनी कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।