ओलाङचुङगोलाका ८८ जनालाई सीमा प्रवेशपत्र प्रदान, नाका खुलाउन पहल

सिमानादेखि नेपालतर्फ ३० किलोमिटरसम्म बसोबास गर्ने स्थानीयलाई सीमा प्रवेशपत्र प्रदान गरिएको हो। नाका सुचारु भए उनीहरू तिब्बतको रिउ बजारसम्म आउजाउ गर्न पाउँछन्।

फुङ्लिङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा सीमा प्रवेशपत्र वितरण गरिएको छ। तिब्बतको रिउ बजारसम्म आउजाउ गर्नका लागि सीमा क्षेत्रका ८८ जना नागरिकलाई प्रवेशपत्र उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन्।

तिब्बतको डिङ्जे काउन्टी, फक्ताङलुङ गाउँपालिका र प्रशासन कार्यालयको त्रिपक्षीय सहमतिमा सिमानादेखि ३० किलोमिटरसम्म बसोबास गर्ने नागरिकलाई सीमा प्रवेशपत्र प्रदान गरिएको उनको भनाइ छ। प्रशासन कार्यालयका अनुसार प्रवेशपत्र प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ। सो क्रममा नाका खुलाउने विषयमासमेत दुई पक्षबीच कुराकानी भएको थियो।

कोभिड–१९ कारण चार वर्षदेखि टिप्ताला नाका बन्द छ। नाका बन्द हुँदा सीमावर्ती क्षेत्रमा व्यापार ठप्प भएको छ। यसले सीमावर्ती गाउँमा खाद्यान्न संकट निम्त्याएको स्थानीय फिन्जो शेर्माले बताए। यहाँ उत्पादन भएको गलैँचा, जडीबुटीलगायत सामग्री र याक चीन निर्यात हुने गरेको थियो। “चार वर्षदेखि याक बिक्री भएको छैन। गोठमा अहिले ९० हाराहारी याक छन्,” उनले भने, “अब नाका खुल्ने र व्यापार बढ्ने अपेक्षा छ।”

टिप्ताला नाका खुलाउने विषयमा पनि छलफल भइरहेको गाउँपालिका उपाध्यक्ष विकास लिम्बूले बताए। नाका खुलाउने विषयमा गत वैशाख २२ मा डिङ्जे काउन्टीका प्रतिनिधि र ताप्लेजुङ प्रशासनबीच भर्चुअल बैठकसमेत भएको थियो। नाका खोल्न समन्वय गरिदिन यसअघि गाउँपालिका र प्रशासन कार्यालयले गृह र परराष्ट्र मन्त्रालयलाई पटक–पटक अनुरोध गरेका थिए। यसअघि घाङला नाकाबाट पनि आउजाउ हुने गरेको थियो। 

सीमावर्ती क्षेत्रका स्थानीयलाई सिमानादेखि २५ किमी दूरीमा रहेको रिउसम्म जाने अनुमति दिइन्छ। रिउ तिब्बतको एउटा व्यापारिक केन्द्र हो। तिब्बतले अहिले रिउबाट ३५ किमि दूरीमा रहेको घुम्तीमा पनि व्यापारिक केन्द्र बनाएको छ। ताप्लेजुङ र संखुवासभालाई पायक पर्ने गरी उक्त केन्द्र निर्माण गरेको हो। सिमानादेखि ओलाङचुङगोला बस्ती पनि २४ किमी दूरीमा छ। 

सिमानादेखि नजिकैका बस्ती याङमाबाट रिउ पुग्न तीन दिन लाग्छ भने ओलाङचुङगोलाबाट एक दिनमा पुगिन्छ। याङ्‌मा ओलाङचुङगोलाको माथिल्ल क्षेत्रमा रहेको बस्ती हो। सिमानादेखि दुवै देशका बस्तीसम्म मोटरबाटो जोडिएको भए पनि कोरोना संक्रमणपछि नेपालतर्फको सडक अवरुद्ध छ। मर्मतसम्भार हुन सकेको छैन। 

चीनबाट भने सिमानासम्म गाडी आउने गरेको छ। नाका सुचारु भए स्थानीयलाई राहत हुने सीमावर्ती क्षेत्र घुन्साका पेमा शेर्पाले बताए।