इन्द्रजात्रा अवलोकन गर्न हिँडेर गद्दी बैठकसम्म पुगे राष्ट्रपति पौडेलसहितका उच्चपदस्थहरू (तस्वीरहरू)

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति, उपराष्ट्रपतिलगायत उच्चपदस्थहरू तथा जनप्रतिनिधिहरू जुद्ध सालिकदेखि हिँडेर हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेका थिए।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका छन्। राष्ट्रपति पौडेल पैदल हिँडेर जुद्ध सालिकदेखि हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेर जात्रा अवलोकन गरेका हुन्।  यसअघिका राष्ट्रपति र राजा गद्दी बैठकअघिसम्म नै गाडीमा जाने गर्थे। 

जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी पनि पैदल यात्रा गर्दै गद्दी बैठकसम्म पुगेका थिए।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए। यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो। भाद्र शुक्ल द्वादशीका दिन मंगलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी शुरू भएको इन्द्रजात्राको बिहीबार मुख्य दिन हो। बिहीबार तल्लो टोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाले जनाएको छ। 

 

विदेशी पर्यटक, हजारौँ सर्वसाधारण पनि जात्रा अवलोकन गर्न पुगेका छन्। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा पनि मनाइँदै आएको छ। विशेष गरी वसन्तपुरमा देखाइने जात्रा विश्वभर चर्चित रहिआएको छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।