एकीकृत समाजवादीले ‘समाजवादी जागरण’ अभियान गर्ने

एकीकृत समाजवादी महासचिव घनश्याम भुसालले ‘समाजवादी जागरण अभियान’मा समृद्धि र समाजवादका लागि हुनुपर्ने ठोस कार्यक्रमबारे जनतालाई जानकारी दिइने बताए।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले ‘समाजवादी जागरण अभियान–२०८०’ गर्ने भएको छ। एकीकृत समाजवादीले असोज १४ गतेदेखि असोज २९ गतेसम्म समाजवादी जागरण अभियान गर्ने भएको हो।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीले समाजवादी जागरण अभियानमार्फत पूर्व–पश्चिम यात्रा गर्न लागिएको जानकारी गराएको हो। असोज १४ गते काँकडभिट्टाको मेची नदी किनाराबाट शुरू हुने अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने जनाइएको छ। यस अवधिमा करिब १ हजार किलोमिटर यात्रा हुने बताइएको छ।

यसबीचमा विभिन्न जिल्लामा पार्टीका विभिन्न तह र तप्काका कमिटीसँग छलफल गर्दै र जनताको कुरा सुन्दै गइने पार्टीका महासचिव घनश्याम भुसालले बताए। उनले ‘रोजगारी, समृद्धि र सुशासन’को नाराका साथ हुन लागेको समाजवादी जागरण अभियानमा समृद्धि र समाजवादका लागि हुनुपर्ने ठोस कार्यक्रमबारे जनतालाई बताइने जानकारी दिए।

आगामी माघमा पार्टीको महाधिवेशन हुने भन्दै महाधिवेशनअघि जनताको सुझाव संकलनका रूपमा पनि यो अभियान रहेको उनले उल्लेख गरे। यस अभियानको क्रममा बेरोजगारी समस्याको समाधान, कृषिको विकास, उद्योग क्षेत्रको विकास र पूर्वाधार निर्माणको सम्बन्धमा पनि पार्टीको योजना सुनाउँदै जनताको सल्लाह, सुझाव पनि सुन्ने उनले बताए।

उनले वर्तमान राजनीतिक दलहरूमा समाजवादमा कसरी पुग्ने भन्ने कुरामा अस्पष्टता रहेको भन्दै आफूहरू भने स्पष्टता साथ अघि बढेको बताए। उनले यस अभियानका क्रममा आफूहरूले समाजवादमा जाने बाटो स्पष्टताका साथमा बताउने उल्लेख गरे।

“हाम्रोजस्तो मुलुकका लागि भूराजनीतिक दबाब झेल्दै सबै राष्ट्रहरूसँग समानताका आधारमा र आपसी हितका आधारमा सम्बन्धहरूलाई बिस्तार गर्दै राष्ट्रको पहिचान र प्रगतिलाई अगाडि बढाउनका लागि कस्तो विदेश नीति चाहिन्छ भन्नेबारेमा समेत हामीले आफूले बोल्नुपर्ने भएको छ। प्रष्ट कुरा राख्नुपर्ने भएको छ। हिजो हामीले दिशा बताएका थियौँ। अब हामी बाटो बताउन जाँदैछौँ,” उनले भने।