एमाले बागमती अधिवेशन : शुक्रबारका लागि सारियो मतदान

सहमतिको प्रयास जारी रहेकाले शुक्रबारसम्मका लागि मतदानको कार्यक्रम स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए। 

काठमाडौँ– नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि बिहीबार मतदान नहुने भएको छ। 

एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा शुक्रबार बिहान ८ बजेबाट मतदान प्रक्रिया शुरू हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए। 

अझै सहमतिको प्रयास जारी राख्ने भन्ने आग्रहका आधारमा शुक्रबारसम्मका लागि मतदानको कार्यक्रम स्थगित गरेको उनले बताए। 

सहमतिको प्रयास जारी भएकाले बिहीबार ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ भने शुक्रबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको तालिका तय गरिएको छ। 

अध्यक्षमा उम्मेदवारी दिएका कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल अझै आफ्नो अडानबाट पछि नहटे पछि सहमतिको प्रयास सफल नभएको बताइको छ। एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनमार्फत २४० पदमा प्रतिनिधि चयन हुँदै छन्।