संघीयताविरोधीहरू सामाजिक सद्भाव बिगार्न सक्रिय भए: मुख्यमन्त्री यादव

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा सामाजिक सद्भाव बिथोल्ने क्रियाकलापमा संघीयताविरोधीहरू सक्रिय रहेका दाबी गरेका छन्।

काठमाडौँ– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयताविरोधीहरू सामाजिक सद्भाव बिगार्ने गतिविधिमा सक्रिय रहेका बताएका छन्।

इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्म दिवसको अवसरमा मुस्लिम धर्मावलम्बीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेश प्रदेशमा सामाजिक सद्भाव बिगार्ने क्रियाकलापमा संघीयताविरोधीहरू सक्रिय रहेका दाबी गरेका हुन्। 

उनले सामाजिक सद्भाव बिगार्नेहरू र संघीयताविरोधीबाट सचेत हुनु आवश्यक रहेको बताए। उनले संसारको कुनै पनि शक्ति संघीयताको विरोधमा लागे पनि संघीयतालाई खारेज गर्न नसक्ने दाबी गरे। 

उनले प्रदेश सरकारसँग आफ्नो प्रहरी प्रशासन नहुँदा सामाजिक सद्भाव बिगार्नेहरूलाई कारबाही गर्न नसकेको गुनासो गरे। संघ सरकारले त्यस्ता गतिविधि गर्नेहरूलाई कारबाही नगर्दा उनीहरूको मनोबल उच्च भइरहेको उनको भनाइ छ। उनले संघीय सरकारसमेत संघीयताविरोधी रहेको आरोप लगाए।

कार्यक्रममा नेकपा एमालेकी नेतृ जुली महतोले पैगम्बर मोहम्मदले जीवन पर्यन्त सामाजिक सद्भाव तथा भाइचाराको सन्देश दिएकाले उनले देखाएको बाटो अनुसरण गर्न आग्रह गरे।