१९औँ एशियाली खेलकुद : नेपालको पब्जी टोली दोस्रो चरणमा

हाङझाउ स्पोर्टस् सेन्टरमा बिहीबार भएको समूह ‘सी’को पहिलो चरणमा नेपाल दोस्रो स्थान हासिल गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ।

हाङझाउ– १९औँ एशियाली खेलकुद, २०२२ अन्तर्गत ‘ई स्पोर्टस्’ विधामा पब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली दोस्रो चरणमा पुगेको छ। हाङझाउ स्पोर्टस् सेन्टरमा बिहीबार भएको समूह ‘सी’को पहिलो चरणमा नेपाल दोस्रो स्थान हासिल गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो।

नेपाल सम्मिलित समूह ‘सी’मा मंगोलिया, दक्षिण कोरिया र भियतनाम रहेका छन्। दक्षिण कोरिया उक्त समूको शीर्ष स्थामा तथा नेपाल दोस्रो स्थानमा रह्यो। पब्जी स्पर्धामा नेपालको ५२ मिनेट २०.२८ सेकेन्ड तथा दक्षिण कोरियाको ४७ मिनेट २८.४६ सेकेन्डको समय रहेको थियो। योसँगै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ।

पब्जीमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। नेपालले दोस्रो चरणमा शुक्रबार प्रतिस्पर्धा गर्नेछ। दोस्रो चरणबाट उत्कृष्ट आठ टोली तेस्रो चरणमा प्रवेश गर्ने छन्। यसअघि समूह ‘ए’ बाट हङकङ, समूह ‘बी’ बाट चाइनिज ताइपेई तथा समूह ‘डी’बाट इन्डोनेसिया दोस्रो चरणमा प्रवेश गरिसकेका छन्।

टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित
टेबल टेनिसतर्फ बिहीबार भएको खेलमा नेपालका सिक्का सुवाल श्रेष्ठ र नविता श्रेष्ठ पराजित भएका छन्।

गोन्सु क्यानल स्पोर्टस् सेन्टरमा महिला एकलतर्फ नेपालकी सिक्का जापानी खेलाडी मियु हिरानोसँग ४–० को सोझो सेटमा पराजित भइन् । उक्त खेल जापानी  खेलाडी हिरोनोले ११–७, ११–१, ११–४ र ११–५ अंकले जितिन्।

यसैगरी, महिला एकलतर्फ नै नेपालकी नविता श्रेष्ठ भारतीय खेलाडी मनिका बात्रासित ४–० सोझो सेटमै पराजित भइन्। नविताले उक्त खेल ५–११, ४–११, ३–११ र २–११ अंकले गुमाइन्।

यस्तै, महिला डबल्सतर्फ पनि सिक्का र नविताको जोडी चीनका यिदी वाङ्ग र मेङ्ग चेनको जोडीसित ३–० को सोझो सटमा पराजित भयो। सिक्का र नविताले उक्त खेल ३–११, ४–११ र १–११ अंकले गुमाउन पुगे। यसअघि नेपाली टोली पुरुष एकल, पुरुष डबल्स र मिक्स डबल्समा पनि पराजित भइसकेको छ। अब नेपालले टिम स्पर्धामा प्रतिस्पर्धा गर्न बाँकी छ।