बिरामीको उपचारमा लापरबाही गर्ने २ जना मेडिकल सञ्चालक पक्राउ

व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक विष्णुकुमारी गरौजा र अनसनचौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक चन्द्रबहादुर चौधरी पक्राउ परेका छन्। 

दमौली– अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामी भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई वटा मेडिकल हलका सञ्चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक ५२ वर्षीया विष्णुकुमारी गरौजा र अनसनचौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक ४५ वर्षीय चन्द्रबहादुर चौधरी छन्। 

अनुगमनका क्रममा बिरामीको स्वास्थ्यमाथि खेलबाड हुने गतिविधि गरेको पाइएपछि पक्राउ गरेको डीएसपी मोहनबहादुर खाँणले जानकारी दिए।

प्रजुन थापा मेडिकल हलले क्लिनिक दर्ता गरी फार्मेसीमा बिरामी जाँच गरेको र बिरामीलाई ‘इन्जेक्सन’मार्फत उपचार गराएको प्रहरीको भनाइ छ।

त्यस्तै मित्रता स्वास्थ्य क्लिनिकले डाक्टरको हल्लाहबिना आफैँ औषधि सिफारिस गरेको, डेंगी संक्रमित बिरामीलाई इन्जेक्सन, ट्याब्लेट र एन्टिब्योटिक्सको माध्यमबाट उपचार गराएको प्रहरीको भनाइ छ।

उनीहरू विरुद्ध बिहीबार नै तनहुँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरिएको डीएसपी खाँणले बताए।