हिमाली गाउँमा घाँसको जोहो गर्ने चटारो

ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुगोलाका स्थानीयले असोज ३ गतेलाई ‘घाँस काट्ने पर्व’कै रूपमा लिने गरेका छन्।  

फुङ्लिङ– ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई  खुराक (घाँस) जोहो गर्ने चटारो छ। हिउँदमा हिमपात हुने अहिले नै घाँसको जोहो गरेर भण्डारण गर्ने चलन छ। 

फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोलाका स्थानीयले असोज ३ गतेलाई ‘घाँस काट्ने पर्व’कै रूपमा लिने गरेका छन्। विभिन्न स्थानमा घाँस संरक्षण गर्ने चलन रहेको स्थानीय तेन्जिङ शेर्पाले बताए। “संरक्षण गरेपछि हुर्किएको घाँसलाई सो दिन सबै परिवार मिलेर घाँस काट्छौँ। घाँसलाई चार–पाँच दिनसम्म सुकाएर आ–आफ्नो घर गोठमा भण्डारण गरिन्छ,” उनले भने, “राम्ररी सुकाएर घर–गोठमा भण्डारण गरेर राखेको घाँस हिमपातको अवधिभर वस्तुलाई खुवाइन्छ।”

हिमाली बस्तीका बासिन्दाको मुख्य पेसा नै याक र चौँरी पालन हो। कात्तिक अन्तिमदेखि चैतसम्म हिमपात हुन्छ। चरन क्षेत्रमा हिउँले ढाक्ने र त्यसबेला याक र चौँरीका लागि घाँसको अभाव हुने भएकाले अहिले नै जोहो गरिएको उनको भनाइ छ। 

स्थानीयले सामूहिक रूपमा घाँस संकलन गर्ने गरी घाँसे क्षेत्रको संरक्षण गर्दै आएको र हाल सोही क्षेत्रमा स्थानीय सबै जुटेर घाँस संकलन गरिरहेको अर्का स्थानीय फुपुफुटी शेर्पाले बताइन्। कुनै वर्ष हिमपातको मौसम लम्बिने हुँदा यतिबेला भण्डारण गरेर राखेको घाँस नै थोर–थोरै खुवाएर भए पनि याक र चौँरीको प्राण बचाउने गरिएको उनको भनाइ छ। 

जिल्लाका ओलाङ्चुङगोलासहित याङ्‍मा, फले र घुन्सा तथा मिक्वाखोला गाउँपालिकाको तोक्पेगोला क्षेत्रका बासिन्दा हिउँद र बर्खा नै याक र चौँरीको गोठ सम्हाल्ने गर्छन्। साढे दुई वर्षदेखि कोरोना महामारीका कारण तिब्बततर्फ याक र चौँरी बिक्री नभएकाले संख्या पनि बढेको र हिमपातको मौसममा खुराक पुर्‍याउनसमेत हैरानी हुने स्थानीयको भनाइ छ। हाल ओलाङ्चुङगोला क्षेत्रमा मात्र सातवटा याक र चौँरीको गोठ छन्। उक्त गोठमा करिब ४५० याक छन्। 

उता, तोक्पेगोला क्षेत्रमा भने करिब ३५ वटा गोठ रहेको मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामाले बताए। उनका अनुसार त्यहाँ दुई हजार बढी याक र चौँरी छन्। त्यस्तै याङ्‌मा, फले र घुन्सा, सिदिङवा गाउँपालिकाको कालीखोला, सिरिजंगा गाउँपालिकाको याम्फुदीनका स्थानीयले पनि याकपालन गरेका छन्।