बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुई घर भत्किनुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ। १३ घर जोखिममा छन्।
म्याग्दी– मालिका गाउँपालिका–४, महभीरको बस्ती पहिरोको जोखिममा परेको छ। बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुई घर भत्किनुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ।
वडा सदस्य गर्वे गुरुङले काले कामी र तुलबहादुर घर्तीको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिए। “पहाडको फेदीबाट शुरू भएको दुईवटा पहिरो फेदीमा रहेको रितुङखोलासम्म पुगेको छ,” उनले भने, “ट्यांकी, मुहान र पाइपलाइनमा क्षति पुगेकाले २५ घरधुरीले प्रयोग गर्ने खानेपानी आयोजना अवरुद्ध भएको छ।”
फूलबारी–महभीर–च्युरीबोट सडक अवरुद्ध भएको छ। पहिरोले गाउँको बीचमा ठूलाठूला खोल्सा बनाएको छ। खोल्साछेउछाउको जमिन चिराचिरा भएको छ। २०० रोपनीभन्दा बढी खेतीयोग्य जमिनमा पनि पहिरोले क्षति गरेको छ।
गएको बुधबार रातिको पहिरोमा परी तुलबहादुरको गोठमा रहेका एक राँगो र एक गोरु मरेका थिए। “हामी त्यो दिन घरमा नभएकाले पहिरोबाट बचियो,” तुलबहादुर भने, “११ जनाको परिवार आफन्तकोमा आश्रय लिएर बसेका छौँ।”
पूर्णदेवी घर्ती, सहबहादुर घर्ती, सहबहादुर सुनार, लालबहादुर कामी, तिलक कामी, गोरे कामी, पोविसरा सुनार, वीरबहादुर कामी, मुक्तिराम सुनार, कुलप्रसाद घर्ती, भीमप्रसाद सुनार, रहमन घर्ती र कुमारी घर्तीको घर जोखिममा रहेका वडा सदस्य गुरुङले बताए।
सो ठाउँमा गत हिउँदमा पनि सुक्खा पहिरो खसेर एउटा घरमा क्षति गरेको थियो। पहिरो प्रभावित क्षेत्रको बिहीबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले निरीक्षण गरेका थिए।
“पहिरोबाट घरवास गुमाएकालाई जिल्ला प्रशासन कार्यालयमार्फत राहतको व्यवस्था हुन्छ,” उनले भने, “घर पुनर्निर्माणका लागि तीनै तहका सरकारको साझेदारीमा पाँच लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने व्यवस्था भएकाले सोहीअनुसार सहयोग गर्छौँ।”
तत्काल खानेपानी आपूर्ति र सडक मर्मत तथा पहिरोबाट थप क्षति हुन नदिने र दीर्घकालीन रूपमा पहिरो नियन्त्रण र बस्ती संरक्षण अथवा स्थानान्तरणको योजना कार्यान्वयन गरिने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
