४ लाख आप्रवासी ‘ड्यारियन ग्याप’को बाटो हुँदै अमेरिकातर्फ

आप्रवासीका लागि २६५ किलोमिटर लामो जोखिमपूर्ण ड्यारियन ग्यापको बाटो मेक्सिको हुँदै अमेरिका पुग्ने प्रमुख करिडोर बनेको छ।

तस्वीर: एएफपी

पनामा र कोलम्बिया बीचको भयानक जंगल खण्ड पार गरेर अमेरिका जाने आप्रवासीको संख्या यो वर्ष चार लाख नाघेको छ।

गत वर्षको तुलनामा यो संख्या ६२ प्रतिशतले बढी भएको पनामा सरकारले जनाएको हो। ‘ड्यारियन ग्याप’ भएर अमेरिका जानु ज्यादै जोखिमपूर्ण मानिन्छ किनभने यो बाटोमा घना जंगल छ। जंगली जनावरको डर उत्तिकै छ भने विभिन्न किसिमका खोलानाला पार गर्नुपर्छ। जोखिम यतिमा समाप्त हुँदैन। आप्रवासीलाई लुट्न आपराधिक गिरोहहरू जंगलमा नै बसिरहेका हुन्छन्। भाग्यवश उनीहरू लुटिएनन् भने पनि ती गिरोहले सुरक्षित बाटो देखाइदिने नाममा आप्रवासीबाट पैसा भने असुलेरै छाड्ने समाचार संस्था एएफपीले जनाएको छ।

आप्रवासीहरूका लागि २६५ किलोमिटर लामो जोखिमपूर्ण ड्यारियन ग्यापको बाटो दक्षिण अमेरिकाबाट मध्य अमेरिका र मेक्सिको हुँदै संयुक्त राज्य अमेरिका पुग्ने प्रमुख ‘कोरिडोर’बनेको छ।

पनामाका अधिकारीहरूलाई घना जंगल क्षेत्र ड्यारियन ग्यापमा मर्ने आप्रवासीको वास्तविक संख्याबारे जाानकारी छैन। उनीहरूलाई यस सम्बन्धमा कसैले कुनै जानकारी उपलब्ध गराएको छैन तर धेरै आप्रवासीको यो कठिन यात्रामा मृत्यु हुने गरेको छ।

पनामाको गृह मन्त्रालयले बुधबारसम्म चार लाख दुई हजार ३० जना ड्यारियन ग्यापतर्फ गएका बताएको छ। कोलम्बियाबाट हरेक दिन चार हजार आप्रवासी त्यसतर्फ जाने गरेका छन्।  कोलम्बियबाट अमेरिका सपना लिएर जाने अधिकांशमा भेनेजुएला, हाइटी, इक्वेडर र कोलम्बियाका नागरिक छन् भने तिनमा केही चिनियाँ र अफगानिस्तानी पनि छन्। 

आप्रवासीको आगमन यति ठूलो छ कि पनामाले देशका विभिन्न भागमा आप्रवासीको लागि सहायता केन्द्रहरू स्थापना गरेको छ। गृहमन्त्री जुआन पिनोले  थेग्नै नसकिने गरी आप्रवासीको बाढी आएको र आफूहरूले भरमग्दुर प्रयास गरिरहेको बताएका छन्। 

आप्रवासीको थेग्नै नसकिने आगमनलाई नियन्त्रण गर्न पनामा सरकारले यसै महिनादेखि गैरकानूनी रूपमा आफ्नो भूमिमा प्रवेश गर्नेलाई फर्काउन थालेको छ। यद्यपि त्यो नियन्त्रण हुन सकेको छैन।