अर्थ समितिले सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन भएनन्: सभापति चालिसे

भत्ता लिन बैठक बसेर निर्देशन दिने, तर सरकारले कार्यान्वयन नगर्दा नकारात्मक सन्देश गएको अर्थ समिति सभापति सन्तोष चालिसेको भनाइ छ।

काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति सभापति सन्तोष चालिसेले समितिले सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन नभएको बताएका छन्। शुक्रबार बसेको समितिको बैठकमा बोल्दै सभापति चालिसेले सरकारले समितिले दिएका निर्देशन पालना नगरे बैठक नै नबस्ने बताए।  

भत्ता लिन बैठक बसेर निर्देशन दिने, तर सरकारले कार्यान्वयन नगर्दा नकारात्मक सन्देश गएको उनको भनाइ छ। “समितिले आजसम्म गरेका समितिका निर्णयहरू ८० प्रतिशत कार्यान्वयन भएका रहेनछन्। ८० प्रतिशत समितिका निर्देशन सरकारले पालना गर्दैन भने समितिको बैठक मात्रै बसेर नकारात्मक सन्देश गयो। सरकारले समितिको निर्देशन पालना नगरे समितिको बैठक बस्दैनौँ,” उनले भने।

उनले समितिले अहिलेसम्म दिएका निर्देशन पालना नभएको र सरकारले गरेका निर्णय कार्यान्वयनको विषयमा समितिले व्यापक छलफल गरी अनुगमन गर्न आवश्यक रहेको औँल्याए। उनले भन्सार कार्यालयहरूमा सामान आयात गरेर भन्सारमा नै थन्काउने र आयातकर्ताका सम्पर्कमा नपाउला भन्सारमा अर्बाैंको सामान थन्किएर बसेको बताए।

“अर्थ मन्त्रीले दुई महिनाभित्र भन्सारमा रोकिएका सवारीसाधन लगायतका वस्तुहरू भन्सारबाट निकाल्न निर्देशन दिएको कति महिना भयो। काम भयो भएन भन्ने कुरा छ। यति धेरै राजस्व आउने कुरामा हामी सुतेर बसेको छौँ,” उनले भने। उनले भन्सार प्रमुखहरूले अर्थ समितिलाई फोन गरेर भन्सार अनुगमनका लागि आग्रह गरेको बताए। उनले भन्सारमा ठूलो रकमको राजस्व गुम्दासमेत सरकार मौन बसेर राजस्वको चिन्ता गर्ने काम मात्रै भएको उल्लेख गरे।