पाकिस्तानमा विस्फोट हुँदा ५० जनाको मृत्यु

पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएकाहरूलाई लक्ष्य गरी विस्फोट गराइएको बताउँदै गृह मन्त्रालयले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

पाकिस्तानमा शुक्रबार भएको आत्मघाती विस्फोटमा कम्तिमा ५० जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन्। पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान मस्जिदनजिकै विस्फोट भएको हो।

पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएकाहरूलाई लक्ष्य गरी विस्फोट गराइएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

बलुचिस्तानका अधिकारीहरूले संकटकाल घोषणा गरेर उद्धार कार्य जारी राखेका छन्। मास्तुङ जिल्लाका सहायक आयुक्तले आतंकवादीले उक्त विस्फोट गराएको बताएका छन्। यद्यपि, आक्रमणको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन।

यसैबीच, खैबर पख्तुनख्वा प्रान्तको पेशावर शहरनजिकैको मस्जिदमा पनि विस्फोट भएको छ। पेशावर नजिकैको हांगुमा रहेको मस्जिदमा भएको विस्फोटबाट मृत्यु हुनेको संख्या अझै खुलेको छैन। तर भवन भत्किँदा धेरै मानिसहरू भग्नावशेषमा फसेको प्रहरीले जनाएको छ। “हांगुको मस्जिद प्रहरी परिसरसँगै जोडिएको भाग हो,” स्थानीय प्रहरीले बीबीसीलाई भने। 

मास्तुङ घटनास्थलको भिडियो फुटेजमा आपतकालीन उद्धारकर्ता र स्थानीयले घाइतेको उद्धार गरिरहेको देखाइएको छ। पाकिस्तानका आन्तरिक मामिलामन्त्री सरफराज बुग्तीले विस्फोट एकदमै जघन्य कार्य भएको प्रतिक्रिया दिएका छन्।

अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो। यहाँ बारम्बार तेहरिक–ए तालिबान पाकिस्तान (टीटीपी), पाकिस्तानी तालिबान र इस्लामिक स्टेट समूहलगायत सशस्त्र समूहहरूले आक्रमण गर्ने गर्छन्।

यद्यपि, टीटीपीले शुक्रबारको विस्फोटमा आफ्नो संलग्नता अस्वीकार गरेको छ। टीटीपीले जारी गरेको विज्ञप्तिमा यस्तो आक्रमण आफ्नो नीतिविरुद्ध भएको बताएको छ।

यसअघि जुलाईमा उत्तर-पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा धार्मिक राजनीतिक दलको भेलामा आत्मघाती बम विस्फोट भएको थियो। सो विस्फोटमा ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।