बुबाआमाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’

थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेका भीमले पाएका पदक र प्रमाणपत्र बुबा वीरभानले कोठाभरि सजाएर राखेका छन्।

महेन्द्रनगर– क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाए।

दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भने १५ कट्ठा जमिन भाडामा लिएर खेती गर्दैछन् । चार छोरा र एक छोरी अन्यको खेत कमाएर हुर्काए। अहिले माइला छोरा २२ वर्षीय भीमले क्रिकेट खेलबाट नामसँगै दामसमेत कमाउन थालेपछि परिवारको दैनिकी नै फेरिएको छ।

“क्रिकेट टिममा महत्त्वपूर्ण खेलाडी भए पनि हाम्रो परिवारको त उ खम्बा नै हो,” उनले भने “खेलमा उसको प्रगति देखेर हामी परिवार नै खुशी छौँ।” तर, परिवार पाल्न भाडामा जमिन लिएर छाक टार्नुपर्ने अवस्था यथावत् रहेको उनको भनाइ छ।

“ऋण तिर्नदेखि जीविका चलाउनसम्म संघर्ष त छ नै”, उनले भने “तर क्रिकेटबाट छोराले दिएको खुशीले हाम्रो दुःख नै ओझेलमा पर्‍यो।” महेन्द्रनगरमा ऋण लिएर छ वर्ष अघि रिक्साको ‘डिलर’ सञ्चालनमा ल्याएका वीरभानलाई सोही व्यापारको ऋणले छोडेको छैन।

“अटो, ई–रिक्सा आएपछि साइकल रिक्सा विस्थापित हुँदा १५/२० लाख ऋणमा डुबेँ”, उनले भने “१० लाखजति भीमले क्रिकेटबाट ल्याएको आम्दानीबाट तिर्‍यौँ।” कक्षा ५ पढ्दादेखि नै महेन्द्रनगरमा क्रिकेट पछ्याउन लागेका भीमले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमबाट खेलिसकेका छन्। यस पटक भने १९औँ एशियन खेलकुद खेल्ने टिममा भने उनी टिममा परेनन्।

थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेका भीमले पाएका पदक र प्रमाणपत्र बुबा वीरभानले कोठाभरि सजाएर राखेका छन्।

“क्रिकेटमै राम्रो गरेकाले होला मलाई पनि अहिले पहिलो एशिया कप छनोट हुँदा काठमाडौँ बोलाएर क्रिकेट हेर्न विशिष्ट कक्षको टिकट दिएर मैदानसम्म पुर्‍यायो”, उनले भने, “अझ पनि राम्रो गर्दै जाने छ भन्ने विश्वास छ, बाँकी भगवानको कृपा।” कक्षा ८ सम्म गाउँकै भृकुटी मावि पढेका भीमले एसएलसी सन्‌राइज उच्च माविबाट गरे।

“त्यहीँबाट भीम क्रिकेटमा राम्रो हुँदै गयो”, वीरभानले भने, “स्कुल पढ्दै धेरै ठाउँमा खेल्न जान थालिसकेको थियो।” भीमले क्रिकेटबाट भएको आम्दानीबाट दाजु विनोदलाई वैदेशिक रोजगारीका लागि मलेसिया र भाइ करनलाई यूएई पठाएका छन्।

“जमिन घरबासका लागि डेढ कट्ठा मात्रै छ”, उनले भने, “क्रिकेटबाट भीमले परिवारकै ठूलो परिचय बनाइदियो।” परिवारको नेतृत्व गर्नसक्ने क्षमता पाएपछि भीमलाई नै परिवारले मुलीको जिम्मेवारी दिएर अघि बढेको छ। “ऋणदानदेखि आर्थिक हरहिसाब सबै भीमले नै सम्हालेको छ”, उनले भने “काठमाडौँबाट प्रवीणता प्रमाणपत्र तह पास गरेपछि उतै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा जागिरसमेत खान थाल्यो।”

भीमले क्रिकेट शुरू गर्दा मैदान छेउमा उभिएर हेर्दा त्यो बेलाको सिनियर खेलाडी चन्द्र साउँदले उनले क्रिकेटमा भित्र्याएको वीरभानले बताए। “क्रिकेट हेर्न गएको बेला भीमलाई बाहिर गएको बल ल्याउन चन्द्रले भनेछन्”, उनले भने, “त्यसपछि चन्द्रले क्रिकेट खेल्न आउन आग्रह गरेपछि भोलिपल्टबाटै खेल्न गयो।”

त्यसअघि भीमका दाजु विनादे पनि क्रिकेट खेलाडी थिए। तर सल्लाहमै विनोद वैदेशिक रोजगारमा गएका हुन्। “भीमले खेलमा गरेको मेहनतले परिवारमा पनि सुखद परिवर्तन ल्याइदियो”, उनले भने, “कहिलेकाहीँ टेलिभिजनमा खेल हेर्दा सपना जस्तै लाग्छ।”

यसैगरी भीमका प्रशिक्षक वीरेन्द्र शाही आर्थिक स्थिति कमजोर अवस्थामा पनि क्रिकेटमा निकै मेहनत गरेको सम्झिन्छन्। “बुबाले रिक्साको डिलर सञ्चालनमा ल्याउँदा भीम दिनभर पसलमा बसेर साँझ क्रिकेट प्रशिक्षणमा आउँथ्यो”, उनी भन्छन्, “अहिले अवसर पाएसँगै आफ्नो प्रतिभा पनि देखायो।”

बुबाको घाटाको व्यापारमा समेत क्रिकेटलाई निरन्तरता दिएका भीमलाई सनराइज स्कुलले पनि सहयोग गरेको शाहीको भनाइ छ। दीपेन्द्रसिंह ऐरी, भीम सार्की, विनोद भण्डारी, सन्दीप जोराजस्ता खेलाडी भएका कञ्चनपुरको क्रिकेट पूर्वाधारको अवस्था नाजुक रहेको क्रिकेट संघका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दले बताए। 

“सरकारले क्रिकेटका लागि यहाँ लगानी गरिदिन्न अरू कहाँबाट सहयोग मिल्ने हो खै?”, उनी भन्छन्, “खेलाडी उत्पादनको उर्वरभूमि भए पनि राज्यले यहाँको खेलकुद विकासमा ध्यान दिएन।” कबर्डहल परिसरमा क्रिकेट मैदान निर्माणको काम कछुवा गतिमा छ।

“हरेक समय विभिन्नस्तरमा क्रिकेटका गतिविधि निरन्तर सञ्चालन भइरहेकै छन्”, उनले भने, “संरचना निर्माणमा सरकारले पनि जागरूकता देखाए प्रतिभावान् खेलाडी तयार गर्न कञ्चनपुर अग्रसर छ।”