अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतले स्वागत गरेका छन्। 

काठमाडौँ– संयुक्त राष्ट्र संघको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्। 

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतल स्वागत गरे। 

प्रधानमन्त्री दाहालको टोली शनिबार चीनको छेन्दुबाट नेपाल आएको हो। उनी संयुक्त राष्ट्र संघको ७८औँ महासभामा भाग लिन भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए। असोज ४ गते राष्ट्र संघको महासभालाई सम्बोधन गरेका उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेटेका थिए। साथै अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गरे। 

असोज ५ गते अमेरिकाबाट सिधै चीन गएका थिए। चीनमा रहँदा प्रधानमन्त्री दाहालले त्यहाँका राष्ट्रपति सी चिनफिङ र समकक्षी ली छ्याङसँग छुट्टाछुट्टै भेटवार्ता गरे।

सो क्रममा दुई देशबिच १३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको थियो। त्यस्तै चीनको हाङझाउमा जारी एशियाली खेलकुदको उद्घाटन समारोहमा पनि सहभागिता जनाएका थिए। 

त्यसपछि चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने मानसरोवर कैलाश घुम्न गएका प्रधानमन्त्री शुक्रबार छेन्दु पुगेका थिए।