नेपाललाई भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न अनुमति, ४४ मेगावाट बिक्री गर्न पाउने

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले १९.४ मेगावाटको तल्लो मोदी र २४.२५ मेगावाटको काबेली बी–१ जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीको अनुमति दिएको छ।

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले पहिलो पटक भारतको इनर्जी एक्सचेन्ज (आईएक्स)को रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्ने अनुमति  पाएको छ।

भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) बिडिङ गरी बिजुली बेच्दै आएको प्राधिकरणले अब सवा घण्टाअघि बिडिङ गरी बिक्री गर्न पाउने भएको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले शनिबार रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो।

भारतको विद्युत् मन्त्रालयले साउन १५ मा विद्युत् आयात/निर्यात (क्रस बोर्डर) स्वीकृति तथा सहजीकरणको लागि तोकिएको निकायको कार्यविधि संसोधनमार्फत छिमेकी देशका अनुमतिप्राप्त निकायलाई रियल टाइम मार्केटमा सहभागी हुन पाउने व्यवस्था गरेको थियो। 

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले पहिलो चरणमा १९.४ मेगावाटको तल्लो मोदी र २४.२५ मेगावाटको काबेली बी १ जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४४ मेगावाट बिद्युत् रियल टाइम मार्केटमा बिक्रीको अनुमति दिएको छ। 

यी दुवै आयोजनाको विद्युत् अहिले डे अहेड मार्केटमा बिक्री भइरहेको थियो। डे अहेड मार्केटमा दिइएको अनुमति शनिबार सकिँदै थियो। डे अहेड र रियल टाइम मार्केट दुवैमा बिक्रीका लागि अनुमति प्राप्त भएको प्राधिकरण, विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताए।

“यसले अचानक विद्युत् उत्पादन बन्द भए वा उत्पादन बढे विद्युत् खरिद बिक्री गर्नसक्ने अवस्था निर्माण भएको छ,” उनले भने, “रियल टाइम मार्केटमा सहभागी हुन पाउनु हाम्रो लागि नयाँ अनुभव र उपलब्धि हो। यसबाट विद्युत् व्यवस्थापनमा सहजता आउनुका साथै दुई देशबीचको विद्युत् व्यापारमा नयाँ इँटा थपिएको छ।”

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षा यामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ। प्राधिकरणले आईएक्सको डे अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)लाई बिक्री गरिरहेको छ। 

प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनमार्फत हरियाणा राज्यलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ। यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ। 

प्राधिकरणले गत साउन र भदौमा पाँच अर्ब  ४३ करोड ३१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ।