नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ: प्रधानमन्त्री

चीनको छेन्दुबाट सहजै द्विपक्षीय उडान हुने र अन्य शहरबाट पनि प्रक्रिया पूरा गरेर हवाई उडानलाई नियमित गर्नेबारे छलफल भएको प्रधानमन्त्रीको भनाइ छ।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना महामारी शुरू हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले परम्परागत ढंगले उत्तरी सीमा क्षेत्रमा स्थानीय रूपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन सहमति भएको उल्लेख गरेका हुन्। 

केही नाकालाई व्यवस्थित गर्नेबारे चीन सरकारले अनुदान उपलब्ध गराउने वचन दिएको उनको भनाइ छ। “वैधानिक ढंगले सबै नाका खोल्ने सहमति भएको छ। केही नाका अनुदानमा बनाइदिन्छौँ भन्ने सहमति भएको छ,” उनले भने।  

यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारेमा पनि महत्त्वपूर्ण छलफल भएको प्रधानमन्त्री दाहालले जानकारी दिए। चीनको छेन्दुबाट सहजै द्विपक्षीय उडान हुने र अन्य शहरबाट पनि प्रक्रिया पूरा गरेर हवाई उडानलाई नियमित गर्नेबारे छलफल भएको उनको भनाइ छ।

आफू देश बाहिर रहँदा कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षक, स्वास्थ्यकर्मीलगायतले राख्दै आएको गुनासो सम्बोधन गरेकामा प्रधानमन्त्री दाहालले धन्यवाद दिए।