बन्द हुँदै दिल्लीस्थित अफगानी दूतावास

भारत सरकारको असहयोग र अपमानजनक व्यवहारका कारण दूतावास बन्द गर्न लागिएको अफगानिस्तानले जनाएको छ। 

तस्वीर: पीटीआई

नयाँ दिल्लीमा रहेको अफगान दूतावास शनिबारदेखि बन्द हुने भएको छ। 

भारत सरकारको असहयोग र अपमानजनक व्यवहारका कारण दूतावास बन्द गर्न लागिएको अफगानिस्तानले जनाएको छ। 

“गणतन्त्रको पतनपछि द्विपक्षीय रणनीतिक सहयोग संयन्त्रअन्तर्गत कुनै सहकार्य भएको छैन,” अफगान दूतावासले भनेको छ, “शैक्षिक कार्यक्रम, सल्लाहकार सेवा, मानवीय सहयोग, व्यापार र व्यापार र अफगान दूतावासको भविष्यको क्षेत्रमा सहयोगको बारम्बार अनुरोधको बाबजुद पनि कुनै ठोस प्रयास भएन र यो अपमानजनक व्यवहारले दूतावासको सामान्य सञ्चालनमा समस्या निम्त्यायो।”

सन् २०२१ अगस्टमा तालिबानले सत्ता कब्जा गर्नुअघि अफगान सरकारको प्रतिनिधित्व गरेका अधिकांश कूटनीतिक कर्मचारी स्वदेश फर्किएको महिनौँ भएको थियो। रिक्त स्थानमा नयाँ नियुक्ति गरिएको गरिएको थिएन। 

भारतले अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिएको छैन। त्यहाँ तालिबान सरकार सत्तामा फर्किएपछि भारतले आफ्नो कूटनीतिक उपस्थिति निलम्बन गरेको छ। 

हालै भारतीय विदेश मन्त्रालयलाई एक पत्र पठाउँदै अफगानिस्तानको राजदूतावासले सेप्टेम्बर ३० देखि दूतावास बन्द हुने जानकारी दिइएको थियो।

गत जुनमा भारतका लागि अफगान राजदूत फरीद मामुन्दजाई नयाँ सत्तासँग आफ्नो कुनै राजनीतिक सम्बन्ध नभएको बताउँदै  बेलायत प्रस्थान गरेका थिए।