एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा

एमाले कर्णाली प्रदेश अध्यक्षमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजंग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ।

सुर्खेत– नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजंग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको हो।

यसअघि अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएकामा दुई जनाले उम्मेदवारी फिर्ता लिएका थिए। कर्णाली प्रदेशसभा पूर्वसभामुख राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन्।

सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले सचिवमा रुद्रबहादुर शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए।

प्रदेशको नेतृत्व सहमतिमा टुंग्याउने प्रयास गरेको एमालेले अन्ततः निर्वाचन प्रक्रियाबाटै नेतृत्वको टुंगो लगाउने भएको हो। प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व छान्न निर्देशन दिएका थिए।

तर, नेताबीचमा कुरा नमिल्दा निर्वाचनबाटै नेतृत्व चयन गर्नुपरेको नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोद शाहले जानकारी दिए। 

उनका अनुसार मतदान शनिबार नै शुरू हुनेछ। एमालेले प्रथम अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्य चयन गर्नेछ।