दशैँ बिदालाई सदुपयोग गर्दै गुम्न जाने योजना छ भने काठमाडौँबाट नजिक मकवानपुरको उत्तरी क्षेत्रमा रहेको मार्खु गाउँ जान सकिन्छ। इन्द्रसरोवरको अवलोकन गर्दै माछाका परिकारको आनन्द लिन सकिन्छ।
काठमाडौँ- वरिपरि पहाडैपहाड। बीचमा गहिरो र फराकिलो ताल। कतै हरियो गाढा रङ त कतै नीलो। पहिलोपटक पुग्नेको त एकछिन बोली नै बन्द हुन्छ। नजर टक्क अडिन्छ। पहाडको फेदीमा लमतन्न विशाल ताल देख्दा मन यसै रमाउँछ। अति नै सुन्दर र विशाल छ- मार्खुको इन्द्रसरोवर ताल।
मकवानपुरको उत्तरी क्षेत्रको गाउँ हो, मार्खु। पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्छ। काठमाडौँ नजिकैको मार्खु जान केवल तीन घण्टा छुट्याए पुग्छ। अर्थात् करिब ४१ किलोमिटरको दूरी तय गरेर पुग्न सकिन्छ।
काठमाडौँदेखि बल्खु, चोभार, फर्पिङ, कुलेखानी ड्याम हुँदै मार्खु पुग्न सकिन्छ। चोभारबाट पश्चिमतर्फको उकालोलाग्दा देखिने सुन्दर डाँडापाखा, हरियाली वातावरण र चिसो हावाको स्पर्श मन नपर्ने को होला?
मार्खुको मुख्य आकर्षण इन्द्रसरोवर ताल ऐतिहासिक रूपले पनि महत्त्वपूर्ण छ। पूर्वराजा वीरेन्द्रले आफ्नी आमा इन्द्रराज्य लक्ष्मीदेवी शाहको सम्झनामा निर्माण गरेका थिए।
विसं २०३४ निर्माण सुरु भई विसं. २०३८ सालमा सम्पन्न भएको थियो। जलविद्युत् आयोजनाका लागि कुलेखानी ड्याम थुनेर बनाइएको मानव निर्मित यो ताल नेपालको एक मात्र 'पावर ब्याकअप'समेत हो।
सिम भन्ज्याङ र दामन भ्युटावरबाट समेत मार्खु पुग्न सकिन्छ। यता, चन्द्रागिरीदेखि हाइकिङ गर्दै पनि मार्खुसम्म पुग्न सकिन्छ। काठमाडौँबाट चोभार, फर्पिङ हुँदै उत्तरतिर पहाडैपहाडको बाटो हुँदै मार्खु पुगिन्छ। गाउँले परिवेश हरिया फाँट, उकाली-ओरोलीका दृश्य हेर्दै बिस्तारै ओरालो लागेपछि कुलेखानी ड्याम पुगिन्छ। त्यहीँबाट सुरु हुन्छ, इन्द्रसरोवरको अमिट यात्रा।
बायाँतर्फ पहाडको काखमा बगेको कञ्चन इन्द्रसरोवरलाई हेर्दै अग्लाअग्ला रूखका बीचैबाट कोरिएको फराकिलो बाटोले नै मार्खु बजारसम्म पुर्याउँछ।
बाटो छेउछाउका साना-ठूला होटलमा चिया नास्ता खाँदै अघि बढ्न सकिन्छ। यो तालको विशेषता भनेकै एकै ठाउँमा बसेर हेर्दा पूरै ताल देखिँदैन। हिँड्दै रोकिँदै ताललाई अघाउञ्जेल हेर्दै फेरि यात्रा गर्नुजस्तो रोमाञ्चक अरू के होला?
मार्खुमा खाने बस्नेको समस्या छैन। सानादेखि सुविधासम्पन्न सबै प्रकारका होटल छन्। चाडपर्वका बेला भने मानिसहरूको भीडले होटल खचाखच हुन्छन्।
इन्द्रसरोवरमा डुंगा चढेर कञ्चन ताल वरपर घुम्दा र तालको बीचमा रहेको टापुमा बिसाएर त्यहाँको भ्यूटावरबाट देखिने दृश्य बयान गरिसाध्य छैन। मार्खुमा इन्द्रसरोवरकै रैथाने माछाका परिकार खान पनि मानिसहरू पुग्छन्।
दिनभर डुंगा चढेर रमाइलो गरेपछि २० मिनेट उकालो लागेपछि भेडा फार्म पुगिन्छ। सयौँ भेडा एकैसाथ चरेको दृश्य, रमणीय र भिरालो चउर र जंगलको चिसो हावा पारीपट्टि तालको दृश्य हेरेर आँखा अघाउँदैनन्। दिन बितेको पत्तै हुँदैन।
मार्खुको यात्रा यतिमै सकिँदैन। नजिकैको मोहिनी झरना मार्खुको अर्को आकर्षण हो। मार्खु बजारबाट मोटरमा करिब एक घण्टामै पुग्न सकिन्छ, मोहिनी झरना। साथीभाइ र परिवारसँग रमाइलो गरि एक/दुई दिन बिताउनका लागि मार्खु उपयुक्त गन्तव्य हो। एकपटक गएर चित्त नबुझ्ने ठाउँ हो, मार्खु। फेरि जाउँजाउँ हुन्छ। तपाईंहरू पनि यो दशैँमा परिवार र साथीभाइसँग मार्खु घुम्न जाने हो कि?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
