मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ। 

जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, मधेश, बागमती, र कर्णालीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।