प्रतिनिधिसभा बैठक बस्दै, विद्यालय शिक्षा विधेयक पेस हुने

विद्यालय शिक्षा विधेयक संसद्‌मा दर्ता भएसँगै शिक्षकहरू आन्दोलित भएका थिए। सरकारले वार्ता गरी उनीहरूका माग सम्बोधन गर्ने भएपछि विधेयक अघि बढाउन लागिएको हो।

काठमाडौँ– संघीय संसद्‌अन्तर्गत आइतबार प्रतिनिधिसभा बैठक बस्दैछ। 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बोलाइएको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

संसद् सचिवालयका अनुसार विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालको विरोधको सूचना निर्णयार्थ प्रस्तुत भएपछि शिक्षामन्त्री अशोककुमार राईले विधेयक २०८० पेस गर्नेछन्।

विधेयक संसद्‌मा दर्ता भएपछि केही प्रावधानप्रति शिक्षकहरूले विरोध जनाएका थिए। शिक्षक आन्दोलित भएपछि सरकारले वार्ता गरी उनीहरूका माग सम्बोधन गर्ने सहमति भएको थियो। 

त्यसअघि बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ।