भिण्डीले बजार नपाएपछि समस्यामा पाल्पाका किसान

पाल्पामा भिण्डीको मूल्य प्रतिकिलो ५० देखि ५५ रुपैयाँ छ। यसले लागत पनि नउठ्ने किसानको गुनासो छ।

रामपुर– व्यावसायिक उत्पादन गरिएको भिण्डीले बजार नपाउँदा पाल्पा किसान चिन्तित बनेका छन्। घरायसी प्रयोजनका लागि मात्रै भिण्डी लगाउँदै आएका किसानले यसपटक व्यावसायिक रूपमा खेती गरेका थिए।

पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुकमा १२ रोपनी जग्गा भाडामा लिएर स्थानीय गंगाप्रसाद बस्याल, राधिका बस्याल र सिर्जना आचार्यले सामूहिक भिण्डीखेती गरेका थिए। अहिले उत्पादित भिण्डीले बजार नपाएको गंगाप्रसादले बताए। 

“रामपुरको बजारलाई मध्यनजर गर्दै सामूहिक खेती शुरू गरियो, उत्पादन राम्रो छ,” उनले भने, “तर, बिक्रीका लागि बजार छैन, टिपेर त्यसै फाल्नुपरेको छ।” दैनिक ५० किलोदेखि १५० किलोसम्म भिण्डी उत्पादन भइरहेको छ। तर, स्थानीय बजारमा बिक्री नभएपछि स्याङ्जाको वालिङ बजारमा सस्तो मूल्यमा आफैँ ढुवानी खर्चेर पठाउन बाध्य भएको गंगाप्रसादको भनाइ छ।

“स्थानीय बजारका व्यापारीले यहाँको उत्पादन खरिद गर्दैनन्, सस्तो मूल्यमा बाहिर पठाउँदा लागत पनि उठाउन धौधौ परेको छ,” उनले भने, “बजारीकरणको राम्रो प्रबन्ध नहुँदा हामी किसानले मार खेप्नु परिरहेको छ।”

गत जेठदेखि उत्पादन दिन थालेको भिण्डी हालसम्म ७५ क्विन्टलभन्दा बढी उत्पादन भइसकेको छ। यस क्षेत्रमा उत्पादन भएको भिण्डीको बजार मूल्य सरदरमा न्यूनतम प्रतिकिलो ४० देखि बढीमा १०० रुपैयाँसम्म रहेको छ। उत्पादन भएको भिण्डीमध्ये सात क्विन्टल भिण्डी रामपुर बजारमा खपत हुने किसान बताउँछन्। 

दैनिक भिण्डी टिपेर बाहिरका बजार खोज्दै पठाउनुपर्दा किसानलाई खेती गरेर लागत उठाउन समस्या परिरहेको छ। अहिलेसम्म भिण्डी बिक्रीबाट करिब तीन लाख रुपैयाँसम्मको आम्दानी भएको राधिकाले बताइन्। बजार अभावमा दुई क्विन्टलभन्दा बढी भिण्डी घरमै कुहाएर फाल्न बाध्य भएको उनको भनाइ छ। 

अहिले भिण्डीको मूल्य प्रतिकिलो ५० देखि ५५ रुपैयाँ छ। किसानले लागतअनुसारको मूल्य पनि नपाएको गुनासो गरेका छन्। “बजारको प्रबन्ध भएमा भिण्डीबाट राम्रो उत्पादन लिन सकिने सम्भावना छ,” उनले भनिन्, “टिपेर धेरै दिनसम्म राख्न नमिल्ने भएकाले यसका लागि फल टिप्ने बित्तिकै बजार चाहिन्छ।”

रामपुरको बजारमा बुटवल, तराईलगायतका बाहिरका बजारबाट कृषि उपज भित्रिने गरेकाले व्यापारीले स्थानीय उत्पादनलाई महत्त्व दिँदैनन्। सरकारले आफूहरूको उत्पादनको बजारीकरणका लागि पहल गरिदिनुपर्ने उनले बताए।