१३ अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

२०८८ असोज १५ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ।

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आइतबार १३ अर्ब १० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्दैछ।

आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८–ग’ बोलकबोल प्रक्रियाद्वारा निष्कासन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।

यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण नागरिकले खरिद गर्न पाउनेछन्। बोलकबोल प्रक्रियामा दिउँसो ३ बजेसम्म भाग लिन सकिनेछ।

२०८८ असोज १५ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ। 

बोलवाला प्रक्रियामार्फत कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सोभन्दा तलका सबै बोलवालाहरूलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ।

यो ऋणपत्रको इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्नेछन्। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत छुट्याइएको छ।

बोलकबोलमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न सकिनेछ।

यस ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत हुने राष्ट्र बैंकले जनाएको छ।