पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन निगमलाई निर्देशन

शनिबार राति बढाएको मूल्य फिर्ता लिन र पहिले कै मूल्य कायम प्रधानमन्त्री दाहालले निगमलाई निर्देशन दिएका हुन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियमको बढेको मूल्य फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएका छन्।

मूल्य वृद्धिप्रति निगमका पदाधिकारीसँग असन्तुष्टि जनाउँदै प्रधानमन्त्री दाहालले पुरानै मूल्यसुची कायम गर्न निर्देशन दिएका हुन्।

“यो आयल निगमको विषय थियो। यसमा प्रधानमन्त्रीले निर्देशन गरिसक्नुभएको छ। यो मूल्य वृद्धि जुन भएको छ। यसलाई तत्काल रोक्ने र पहिले कै मूल्य कायम गर्ने निर्देशन भएको छ,” सरकारका प्रवक्ता रेखा शर्माले भनिन्, “सम्भवतः अहिले आयल निगमले घटाएर मूल्य सार्वजनिक गर्दै होला।”

पुरानो मूल्यसुची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गर्न पनि निर्देशन दिइएको उनले बताए। निगमले शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो।