सदनमा रविले भने– कर्मचारीलाई बोनस बाँड्ने निगम कसरी घाटामा जान्छ, निर्क्योल गरियोस्

रास्वपाका सभापति रवि लामिछानेले कर्मचारीलाई सधैँ बोनस बाँड्ने निगम कसरी घाटामा जान्छ भन्दै प्रश्न गरे।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल आयल निगमको घाटाबारे यथार्थ निर्क्योल गर्न माग गरेका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले कर्मचारीलाई सधैँ बोनस बाँड्ने निगम कसरी घाटामा जान्छ भन्दै प्रश्न गरे।

“आयल निगम आयात पनि आफैँ गर्छ। व्यापार पनि आफैँ गर्छ। नियामक निकाय पनि उही हो। सबै कुरा आफैँ गर्छ। कर्मचारीलाई बोनस बाँड्न भ्याउँछ। तर, सधैँ घाटामा छु भन्छ। घाटा के हो?” उनले भने,  “निर्क्योल गरियोस्। अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि भएको हो भने घटेका बेलामा मूल्य घटाउन दुई तीन दिन किन लगाउँछ?”

उनले संविधान दिवसको अवसरमा दिएको राष्ट्रपतिबाट दिइएको सजाय माफी मिनाहाप्रति पनि असन्तुष्टि पोखे। “राष्ट्रपतिज्यूले संविधान दिवसको दिनमा भोज राख्नु भएको थियो तर म सहभागी हुन सकिन्। तर संयोग बस त्यो भोज थिएन। त्यो दिनदहाडै सडकमा मान्छे काट्नेलाई उन्मुक्ति दिएको पार्टी रहेछ। म खुशी छु त्यो पार्टीमा त्यो जुठो खान परेन। नेपाली जनताले लडेर ल्याएको लोकतन्त्रमा संविधान जसलाई लिएर यो देशले आशा भरोसा राखेको छ।”

सरकारको सिफारिसमा राष्ट्रपतिले व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैद तोकिएका बाँकेका योगराज ढकालको सजाय माफी मिनाहा गरेका थिए। सरकारको सिफारिसमा राष्ट्रपतिबाट दिइएका उक्त आममाफीप्रति रास्वपाले विरोध गर्दै आएको छ।