पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिइसकियो: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले चाडपर्व र आमउपभोक्ताको हितलाई ध्यानमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय लिइएको बताएका छन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न चाडपर्व र आमउपभोक्ताको हितलाई ध्यानमा राखेर आफूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय लिएको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूलाई नेपाल आयल नियमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थाहा नभएको उल्लेख गर्दै त्यसलाई तत्काल फिर्ता लिन निर्देशन दिनुपरेको स्पष्ट पारे। उनले अटोप्राइसमा जाने निगमको निर्णय जनताको पिर मर्का, भावना र आवश्यकताविपरीत रहेकाले आफूले सो निर्णयलाई फिर्ता गराएको दाबी गरे। प्रधानमन्त्री दाहालले नेपाल आयल निगम स्वतन्त्र निकाय नभएकाले उसले सरकारको निर्देशनअनुसार काम गर्ने बताए।

“अहिलेको जनताको पिर मर्का, जनताको भावना र आवश्यकता विपरीत थियो। आज बिहान मात्रै मैले प्रधानमन्त्री वा सम्बन्धित मन्त्रालय वा उपप्रधानमन्त्रीहरूलाई पनि जानकारी नदिई अटोप्राइस भनेको आयल निगमको स्वतन्त्रता होइन, राज्यबाट अलग जाने भन्ने होइन। राज्य भित्रकै अंग हो। त्यसकारण अहिलेको यो परिस्थितिमा त्यो मूल्य फिर्ता लिनुपर्छ भन्ने निर्णय गरियो। त्यही निर्णय निर्देशनअनुसार आयल निगमले निर्णय फिर्ता लिएको छ। यो जानकारी पनि म गराउन चाहन्छु” उनले भने।

बैठकमा प्रधानमन्त्री दाहालले सुन तस्करीबारे छानबिन गर्न चार सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरिएको पनि बताए। केहीबेर अघि बसेको मन्त्रिपरिषद् बैठकले सुनको अवैध पैठारी, तस्करी नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन पेस गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा पूर्वप्रहरीअतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्वसहसचिव किशोरजंग कार्की र पूर्वसहसचिव प्रेमराज जोशी रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो।