निगमले फिर्ता लियो पेट्रोलियम पदार्थको मूल्यवृद्धि

आयल निगमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिएको छ।

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ। निगमले विज्ञप्ति जारी गर्दै आइतबार मध्यरातबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरिएको जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियमको बढेको मूल्य फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएका थिए। मूल्यवृद्धिप्रति निगमका पदाधिकारीसँग असन्तुष्टि जनाउँदै प्रधानमन्त्री दाहालले पुरानै मूल्यसूची कायम गर्न निर्देशन दिएका हुन्।

निगमले शनिबार रातिदेखि लागू हुने गरी खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो।

मूल्य बढेसँगै खाना पकाउने ग्यासको मूल्य २ हजार ११० रुपैयाँ कायम भएको थियो भने पेट्रोलको १८५ र डिजेल/मट्टितेलको प्रतिलिटर १७९ रुपैयाँ कायम भएको थियो। निगमले मूल्यवृद्धि फिर्ता लिएसँगै अब इन्धनको पुरानै मूल्य कायम हुने भएको छ।