भूराजनीतिले देशको अवस्था पेचिलो र जटिल छ: माओवादी केन्द्र

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जनताको जीवनस्तर परिवर्तनका लागि प्रधानमन्त्री दाहाल गम्भीरतापूर्वक लागेको दाबी गरे।

काठमाडौँ– नेकपा माओवादी केन्द्रले भूराजनीतिका कारण देशको अवस्था पेचिलो बन्दै गएको बताएको छ। 

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भूराजनीतिक अवस्थाले देश पेचिलो र जटिल अवस्थामा रहेको बताएका हुन्। सबै मिलेर मिहिनेत गर्ने हो भने देशमा देखिएको समस्या समाधान हुने उनको भनाइ छ।  

“भूराजनीतिक अवस्थाले गर्दा हाम्रो अवस्था अलि पेचिलो र जटिल छ। तर हामीले मिहिनेत गर्ने हो भने देखा परेको समस्याको समाधान गर्न सकिन्छ। सम्भावना पनि छ यसमा। अहिले चुनौतीभन्दा बढी सम्भावना छ। यस्तै बेलामा ढोकाहरू खुल्छन्,” उनले भने।

पूर्वसभामुखसमेत रहेका सापकोटाले भारत भ्रमण, संयुक्त राष्ट्रसंघको महासभामा जाँदा भएका सम्झौताहरूको एकमुस्ट निष्कर्ष निकाल्दा अहिले राजनीतिक रूपमा सकारात्मक सन्देश गएको बताए। यसले माओवादीप्रति अपेक्षा बढाएको उनको भनाइ छ।

उनले पार्टीले पछिल्लो समय देशमा आँधीबेहरी सिर्जना गरेको उल्लेख गर्दै माओवादीको सुदृढीकरण अभियान पनि सफल हुँदै गएको दाबी गरे। उनले पार्टीमा आकर्षण बढेको र अन्य पार्टीका कार्यकर्ता र पार्टी बाहिरका मानिस हजारौँको संख्यामा प्रवेश गरिरहेको जिकिर गरे।

“माओवादीको परीक्षामा हामी एक पछि अर्को पास हुँदै गएका छौँ। अहिलेसम्म आइपुग्दा यसको आकर्षण बढेको छ। यो जनस्तरसम्म पुग्दै छ। यसको आकर्षणको कुरामा धेरै अन्य पार्टीका कार्यकर्ता र पार्टी बाहिरका मानिस हजारौँको संख्यामा प्रवेश गरिरहेका छन्, यो आकर्षण हो,” उनले भने। उनले सरकार जनताका आवाज सुन्न तत्पर रहेको बताए।

उनले देश विकास गर्न राष्ट्रिय रूपमा एकरूपता कायम गर्न आवश्यक भएको भन्दै राष्ट्रिय दृष्टिकोण कायम भएपछि मात्रै सम्बन्धहरू राम्रो हुने बताए। “हामीले राष्ट्रिय रूपमा एकरूपता कायम गर्नुपर्छ, पार्टीहरूका बीचमा त्यो अनिवार्य छ। किनभने यो भएपछि, आत्मनिर्भर भएपछि मात्रै हाम्रो राष्ट्रिय सवालमा, राष्ट्रिय दृष्टिकोण कायम भएपछि मात्रै अरूसँग हाम्रो सम्बन्ध राम्रो हुन्छ र सहयोग लिन पनि पाइन्छ,” उनले भने। 

उनले राजनीतिक परिवर्तनहरू भए पनि जनताको जीवन परिवर्तन नभएको भन्दै जनताको जीवन परिवर्तन गर्नको लागि प्रधानमन्त्री दाहाल गम्भीरतापूर्वक लागेको जिकिर गरे।