पशुपति विकास कोषका सदस्य–सचिव थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव मिलनकुमार थापा, तत्कालीन सदस्य–सचिव प्रदीप ढकालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा तयार भएको छ।

काठमाडौँ– पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. मिलनकुमार थापा, तत्कालीन सदस्य–सचिव डा. प्रदीप ढकालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा तयार भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा सदस्य–सचिव थापा, तत्कालीन सदस्य–सचिव ढकाल र कोषका तत्कालीन बिशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। थापा कोषका तत्कालीन कोषाध्यक्षसमेत हुन्।

आयोगले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना भएको जनाएको छ। त्यसबापतको एक करोड १७ लाख १ हजार ७८१ रुपैयाँ भ्रष्टाचार भएको आयोगको ठहर छ। अनुसन्धानका क्रममा सुन हिनामिना गर्ने कार्यमा ढकाल र थापाको प्रत्यक्ष भूमिका समेत रहेको पुष्टि भएको आयोगले जनाएको छ। आयोगले जनही एक करोड १७ लाख १ हजार ७८१ रुपैयाँ बिगो माग दाबी गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ।