संसदीय समितिले सरकारलाई दिएका निर्देशनमध्ये आधा मात्रै कार्यान्वयन

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति मायाप्रसाद शर्माले हालसम्म सरकारलाई समितिले २९ वटा निर्देशन दिए पनि कार्यान्वयन आधा मात्रै भएको बताए।

काठमाडौँ– राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सरकारलाई दिएका निर्देशनमध्ये आधा मात्रै कार्यान्वयन भएको गुनासो गरेको छ।

आइतबार समिति सभाकक्षमा समिति सभापतिसहित सदस्यहरूले सुदूरपश्चिम प्रदेशमा सम्पन्न गरेको कार्यक्रमको समीक्षा तथा समितिबाट सरकारलाई समय–समयमा दिइएका निर्देशनहरूको कार्यान्वयन अवस्था सम्बन्धमा गरेको छलफलमा समितिका सभापति मायाप्रसाद शर्माले निर्देशन पालना नभएको भन्दै असन्तुष्टि पोखे। 

वार्षिक प्रतिवेदन तयारी सम्बन्धमा भएको छलफलका क्रममा सभापति शर्माले हालसम्म सरकारलाई समितिले २९ वटा निर्देशन दिए पनि कार्यान्वयन आधा मात्रै भएको बताए। “निर्देशन दिएको २९, कार्यान्वयन भएको १४, आंशिक कार्यान्वयन भएको निर्देशन संख्या २, कार्यान्वयनको चरणमा रहेको ४ र कार्यान्वयन भए नभएको विवरण नै नदिएको निर्देशन संख्या ९ वटा छ,” उनले भने।

उनले निर्देशनको कार्यान्वयनको अवस्था सम्बन्धमा शीर्षकसहित मन्त्रालयगत रूपमा प्रतिवेदनमै उल्लेख गर्ने र सदनमा जानकारी गराउने बताए।