कांग्रेस महामन्त्री गगन थापाले समाजवादी मोर्चालाई सहमतिअनुसारको समय दिएर बाँकी कार्यकाल कांग्रेसले मात्रै सरकार चलाउने सहमति गर्नुपर्ने बताए।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समाजवादी मोर्चालाई अढाई वर्ष सरकारको नेतृत्व गर्न दिएर बाँकी कार्यकाल कांग्रेस एक्लैले सरकार चलाउने प्रस्ताव अघि सारेका छन्।
आइतबार काठमाडौँमा आयोजित १४औँ महाधिवेशनको म्यान्डेट र पार्टी रूपान्तरणको जल्दाबल्दा सवाल विषयक गोष्ठीमा बोल्दै उनले समाजवादी मोर्चाले पार्टी एकता गर्नेसम्मको विषय अघि सारेको र सरकारको नेतृत्व पुष्पकमल दाहालपछि माधवकुमार नेपालले गर्ने सहमति भएको भन्दै दुई वर्षपछि कांग्रेस एक्लैले सरकार चलाउने गरी अहिलेको मन्त्रिपरिषद्बाट कांग्रेसका मन्त्रीहरू फिर्ता बोलाएर सरकारको समर्थन गर्नुपर्ने बताए। उनले समाजवादी मोर्चालाई सहमतिअनुसारको समय दिएर बाँकी कार्यकाल कांग्रेसले मात्रै सरकार चलाउने सहमति गर्नुपर्ने बताए।
“नेकपा माओवादी, जसपा, एकीकृत समाजवादीलगायत मिलेर समाजवादी मोर्चा बनाउनु भएको छ। यो दुई, अढाई वर्ष उहाँहरूले सरकार चलाउने भन्ने कुरा छ, पहिले प्रचण्डजी र त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने छ,” उनले भने, “उहाँहरूको एकै मोर्चा समाजवादी र पार्टी एकै बनाउने भन्नु भएको छ। मलाई लाग्छ कि कांग्रेसका सबै मन्त्री फिर्ता बोलाऔँ, अढाई वर्ष उहाँहरूलाई चलाउन दिऔँ। हामी फ्लोरबाट समर्थन गरौँ।”
सरकारलाई तलबाट साथ दिने तर असहमतिमा असहमति जनाउन सक्नुपर्ने उनको भनाइ छ। उनले अहिलेको सरकार कसको हो भन्ने प्रश्न उठेको भन्दै सरकारमा सबै भए पनि जवाफ दिने बेला कसैले नदिने टिप्पणी गरे।
‘पार्टी सदस्यहरूले मतदान गरेर सभापति चुन्न पाउनुपर्छ’
कांग्रेस सांसद प्रदीप पौडेलले पार्टी केन्द्रीय सभापति पनि पार्टीका सबै सदस्यले मतदान गरेर चुन्न पाउनुपर्ने बताए। “कांग्रेसका सबै कार्यकर्ताले अब आफ्नो केन्द्रीय सभापति आफैँ चुन्न खोजेका हुन् भने त्यही अनुसारको व्यवस्था गर्न सक्नुपर्छ। पार्टी नेतृत्वले जसलाई टिकट दिन्छ त्यसलाई नै सधैँ भरी थोपर्छ, अन्याय गर्छ भन्ने लाग्ने हो भने पार्टीभित्र प्राइमरी इलेक्सन, अन्तरपार्टी प्राइमरी इलेक्सनको व्यवस्था गर्नुपर्यो। पार्टीका आम कार्यकर्ताले चुनेको व्यक्तिले मात्रै टिकट पाउने व्यवस्था गर्नुपर्यो,” उनले भने।
उनले पार्टीको रूपान्तरण प्रक्रियालाई पूर्ण बनाउनका लागि पार्टीका आन्तरिक विषय, बाह्य र राष्ट्रिय मुद्दाहरूमा प्रष्ट हुन आवश्यक रहेको बताए। “पार्टीको रूपान्तरण प्रक्रियालाई पूर्ण बनाउनका लागि पार्टीका आन्तरिक विषय, बाह्य र राष्ट्रिय मुद्दाहरूमा प्रष्ट हुन आवश्यक छ। हामी व्यक्ति परिवर्तनले मात्रै रूपान्तरण हुन्छ भन्ने सोचिरहेका त छैनौँ? पार्टीको समग्र रूपान्तरणका लागि हामीले सबै पक्षलाई छुन सक्नुपर्छ।”
‘सरकारको नेतृत्व कांग्रेसमा छ’
कांग्रेस नेता तथा पूर्वमन्त्री दिलेन्द्र बडुले प्राविधिक रूपले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भए पनि सरकारको नेतृत्व कांग्रेसले नै गरेको तर्क गरे। उनले अहिले पनि देशमा जनताले आशा गरेको पार्टी कांग्रेस मात्रै भएको दाबी गर्दै सरकारमा सबैभन्दा ठूलो हिस्सा कांग्रेसको रहेको बताए।
“पछिल्लो सरकारको नेतृत्व पनि कांग्रेसले गरेको थियो। अहिलेको सरकार पनि प्राविधिक रूपले प्रचण्डजी प्रधानमन्त्री हुनुहोला तर नेतृत्व हाम्रो छ। हाम्रो सबैभन्दा ठूलो हिस्सा यो सरकारमा छ,” उनले भने, “तर पनि हामी के गर्दै छौँ, हामीलाई जनताले हेरिरहेको छ। तर हामीले कामले देखाउन सकेनौँ भने हाम्रो भाषणमा विश्वास गर्ने क्रम सकिँदै छ। अहिले पनि यो देशमा जनताले आशा गरेको छ भने फेरि कांग्रेसबाटै हो। कांग्रेसले मात्रै हो यो मुलुकको एउटा समाधान दिन सक्ने, अहिलेको निराशाको अवस्थामा पनि।”
पार्टी आफ्नो विधानअनुसार नभई मनमौजी केही नेतृत्वको खटनपटनमा चलेको भन्दै आउँदो वर्षमा पार्टी विधान अनुसार चलाउने प्रक्रियामा अगाडि बढेको बताए। “कमी भनेको केन्द्रीय समितिमा नै रहेको छ, केन्द्रीय समिति र सभापतिले गरिसक्नुपर्ने कार्ययोजना अनुसार काम भएको छैन। त्यसकारण समग्रमा सुधारका लागि पनि यो रूपान्तरण हो भन्ने मलाई लाग्छ,” उनले भने।
रूपान्तरणका लागि सबैभन्दा सक्षम टोली बनाउनतर्फ लाग्नुपर्ने, त्यसपछि मात्रै संकल्पलाई पूर्णतामा पुर्याउने चरणमा पुग्न सकिने उनको भनाइ छ।
‘भेटी चढाएका भरमा नियुक्ति हुने प्रथा नहटाएसम्म कांग्रेस बन्दैन’
कांग्रेस नेता अर्जुननरसिंह केसीले भेटी चढाएको भरमा नियुक्ति हुने प्रथा नहटाएसम्म कांग्रेस पार्टी नसुध्रने बताए। “संविधानमा पनि ठूलो परिवर्तनको आवश्यकता रहेको छ। जबसम्म संविधानमा समानुपातिक भन्ने आफ्ना परिक्रमा गरेर वरपर दौडिने र भेटी चढाएको भरमा नियुक्ति गर्ने प्रथा हुन्छ त्यति बेलासम्म कांग्रेस बन्दैन। या समानुपातिकलाई निर्वाचन प्रणालीमा लैजाऔँ या त राष्ट्रियसभामा लैजाऔँ,” उनले भने।
उनले रूपान्तरण अभियानले ‘जोड्ने काम गरौँ, तोड्ने होइन’ भन्ने सन्देश सबैलाई दिन आवश्यक रहेको बताए। अहिले कांग्रेसलाई भ्रष्टाचारीहरूको संरक्षक भएको आरोप लागिरहेकोले त्यसलाई चिर्न आवश्यक रहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
