सोल्टी होटलको शेयर बेचेर जहाज खरिद गर्न वायुसेवा निगमलाई अध्ययन समितिको सुझाव

नेपाल वायुसेवा निगम पुँजी अभाव, ऋण र जहाज अभावको चर्को दबाबमा रहेको निष्कर्ष अध्ययन समितिले निकालेको छ।

काठमाडौँ– नेपाल वायुसेवा निगमको व्यवस्थापन तथा संरचनागत अध्ययन समितिले सोल्टी होटलको साढे ४ अर्बको शेयर बिक्री गरी नयाँ जहाज खरिद गर्न सुझाव दिइएको छ। पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको समितिले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई प्रतिवेदन बुझाउँदै होटलको १ करोड ३ लाख कित्ता सेयर बिक्री गरेर जहाज किन्न सुझाव दिएको हो। 

“निगम नेपाल सरकारको पूर्ण स्वामित्व भएको सार्वजनिक संस्था भएकाले नेपाल सरकारको पुँजी थप गरी आवश्यक मात्रामा जहाज थप गर्नुपर्ने देखिन्छ,” आइतबार समितिले बुझाएको प्रतिवेदनमा भनिएको छ। निगम पुँजी अभाव, ऋण र जहाज अभावको चर्को दबाबमा रहेको निष्कर्ष अध्ययन समितिले निकालेको छ।

अध्ययन प्रतिवेदनअनुसार निगमको सोल्टी होटल लिमिटेडको शेयर कित्ता स्वामित्व संख्या १ करोड ३ लाख ३३ हजार ६९९ छ। जसको अहिलेको बजार मूल्यअनुसार साढे ४ अर्ब रुपैयाँ हुने र सो शेयर बिक्री गरी प्राप्त हुने रकम नयाँ जहाज किन्न उपयोग गर्न सकिने प्रतिवेदनमा उल्लेख छ। 

नयाँ जहाज खरिदका लागि निगमले विभिन्न शीर्षकमा उठाउनुपर्ने रकम आर्थिक वर्ष २०७८/०७९ सम्म २ अर्ब १९ करोड उपयोग गर्न सकिने बताइएको छ।समितिले नेपाल वायुसेवा निगमलाई विद्युत् प्राधिकरणको मोडालिटीमा सञ्चालन गर्न संरचनात्मक सुधार, जहाज थप गर्नैपर्ने सुझावसहितको प्रतिवेदन पर्यटन मन्त्रालयमा बुझाएको हो।

पूर्वगभर्नर क्षेत्री संयोजक रहेको समितिमा चार्टर्ड एकाउन्टेन्ट पिउस आनन्द, क्याप्टेन ओम गुरुङ, सञ्चारकर्मी टीकाराम राई र सहारा नेउपाने सदस्य रहेका छन्। समितिलाई विभिन्न ८ वटा क्षेत्रमा अध्ययन गरी सुधारका लागि सुझाव पेस गर्न भनिएको थियो।